जनादेशको नयाँ लहर : बालेनको बलमा उभिएको होलसेल भरोसा

# मुना चन्द

नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परम्परागत शक्ति र स्थापित अनुहारहरूलाई चुनौती दिँदै नयाँ आशा र नयाँ नेतृत्वलाई अघि सारेका उदाहरणहरू बारम्बार देखिएका छन्। लोकतन्त्रको सार नै यही हो, जनताले जब परिवर्तन चाहन्छन्, उनीहरू कुनै एउटा व्यक्तिलाई मात्र होइन, त्यो व्यक्तिले प्रतिनिधित्व गर्ने दृष्टि, विचार र सम्भावनालाई समग्र रूपमा स्वीकार गर्छन्। अहिलेको राजनीतिक परिदृश्यमा देखिएको जनमत पनि त्यही परम्पराको निरन्तरता जस्तो देखिन्छ।

यस पटक जनताले विभिन्न स्थानबाट उठेका फरक–फरक पात्रहरूलाई छुट्टाछुट्टै रूपमा ‘रिटेल’मा रोज्नेभन्दा पनि, एउटा प्रतीकात्मक व्यक्तित्वको प्रभावमा एउटा शक्ति वा राजनीतिक धारालाई समग्र रूपमा ‘होलसेल’मा रोजेको संकेत दिएका छन्। त्यो प्रतीकात्मक व्यक्तित्व बनेका छन्, बालेन शाह। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा उनले देखाएको शैली, स्थापित संरचनाप्रति चुनौती दिने साहस र प्रशासनिक निर्णयमा देखिएको दृढताले धेरै मतदाताको मनमा नयाँ सम्भावनाको बीउ रोपेको थियो। त्यही विश्वास अहिले राजनीतिक शक्ति निर्माणको आधार बनेको देखिन्छ।

नेपालको राजनीतिक इतिहासलाई हेर्दा यस्तो लहर नयाँ होइन। २०४८ सालको संसदीय चुनावमा बहालवाला प्रधानमन्त्री तथा अत्यन्त सम्मानित नेताका रूपमा चिनिएका कृष्णप्रसाद भट्टराई (किशुनजी) लाई पराजित गर्दै युवा नेता मदन भण्डारीले जनविश्वास जितेका थिए। त्यो चुनाव केवल एउटा निर्वाचन परिणाम थिएन; त्यो पुस्तान्तरणको संकेत थियो। जनताले स्थापित व्यक्तित्वभन्दा पनि भविष्यको सम्भावनालाई प्राथमिकता दिएका थिए।

त्यस्तै २०६४ सालको संविधानसभा चुनावमा पनि जनताले माओवादीलाई देशभर एकैपटक विश्वास गरेका थिए। दशकौंसम्म सत्ता बाहिर रहेका शक्तिलाई जनताले व्यापक समर्थन दिएर सत्ता केन्द्रमा पुर्‍याए। त्यो परिणामले देखाएको सन्देश स्पष्ट थियो, जब जनताले परिवर्तनको निर्णय गर्छन्, उनीहरू अंशमा होइन, समग्र रूपमा निर्णय गर्छन्।

२०७४ सालमा नेकपा (एमाले–माओवादी गठबन्धन) ले प्राप्त गरेको भारी बहुमत पनि त्यही प्रवृत्तिको अर्को उदाहरण थियो। राजनीतिक अस्थिरताबाट थाकेका जनताले स्थिर सरकारको आशामा एकैपटक ठूलो जनादेश दिएका थिए। त्यो जनादेशले राजनीतिक स्थिरताको अपेक्षा बोकेको थियो, यद्यपि त्यसको परिणाम अन्ततः राजनीतिक विभाजन र आन्तरिक संघर्षमा परिणत भयो।

आजको परिस्थितिमा देखिएको जनमत पनि केही हदसम्म त्यही मनोविज्ञानको निरन्तरता जस्तो देखिन्छ। जनताले पुराना दलहरूबीचको निरन्तर शक्ति–संघर्ष, कमजोर सेवा प्रवाह र राजनीतिक अविश्वासबाट दिक्क भएर नयाँ विकल्प खोजिरहेका छन्। यही मनोविज्ञानले बालेनसँग जोडिएको शक्ति वा राजनीतिक धारा प्रति आकर्षण बढाएको देखिन्छ।

यद्यपि यो लहर पूर्ण रूपमा एकतर्फी भने छैन। कुलमान घिसिङ र हर्क साम्पाङजस्ता व्यक्तित्वहरूले पनि स्थानीय तहमा वैकल्पिक नेतृत्वको सम्भावना देखाएका छन्। उनीहरूले आफ्ना क्षेत्रमा सिर्जना गरेको प्रभाव उल्लेखनीय भए पनि समग्र राजनीतिक समीकरणमा भने उनीहरू केही पछाडि परेको देखिन्छ। यसको कारण संगठन, संरचना र व्यापक राजनीतिक समन्वयको अभाव हुन सक्छ।

तर यसलाई हार वा असफलता मात्र भनेर बुझ्न मिल्दैन। बरु यो संकेत हो, नेपालको समाज नयाँ नेतृत्वको खोजीमा छ। विभिन्न स्थानमा विभिन्न व्यक्तित्वहरूले त्यो सम्भावनाको झलक देखाइरहेका छन्।

अबको मुख्य प्रश्न भनेको जनादेश पाउने शक्तिले त्यसलाई कसरी प्रयोग गर्छ भन्ने हो। इतिहासले देखाएको छ कि जनताले ठूलो भरोसा दिए पनि त्यो भरोसा कायम राख्न सक्नु नै सबैभन्दा कठिन काम हो। जनादेश जित्नु एउटा उपलब्धि हो, तर जनताको जीवनमा ठोस सुधार ल्याउनु त्योभन्दा धेरै ठूलो जिम्मेवारी हो।

एकल बहुमतसहित सत्तामा पुग्ने कुनै पनि नयाँ शक्ति वा नेतृत्वका लागि यो अवसर पनि हो र चुनौती पनि। अवसर यस अर्थमा कि उनीहरूलाई काम गर्न पर्याप्त राजनीतिक शक्ति प्राप्त हुन्छ। चुनौती यस अर्थमा कि अपेक्षा असाध्यै ठूलो हुन्छ। जनताले पुराना राजनीतिक अभ्यासबाट निराश भएर नयाँ शक्तिलाई अघि सारेका हुन्छन्, त्यसैले परिणाम देखाउन नसके निराशा झन गहिरो बन्न सक्छ।

राजनीतिमा ‘सर्भिस डेलिभरी’ अर्थात सेवा प्रवाह नै अन्ततः नेतृत्वको वास्तविक परीक्षा हो। भाषण, नारा र प्रतीकभन्दा पनि जनताको दैनिक जीवनमा देखिने सुधारले मात्र जनादेशको औचित्य प्रमाणित गर्छ। सुशासन, पारदर्शिता, आर्थिक अवसर, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा ठोस परिणाम देखाउन सके मात्र नयाँ शक्तिले आफ्नो वैधता बलियो बनाउन सक्छ।

त्यसैगरी पराजित शक्तिहरूका लागि पनि यो समय आत्ममन्थनको हो। जनताको सन्देशलाई अस्वीकार गरेर वा केवल आरोप–प्रत्यारोप गरेर राजनीतिक भविष्य सुरक्षित हुँदैन। बरु आफ्नै संगठन, नेतृत्व शैली र जनतासँगको सम्बन्धलाई पुनः समीक्षा गर्नु आवश्यक हुन्छ। लोकतन्त्रमा हार र जित स्थायी होइन; स्थायी भनेको जनताको विश्वास मात्र हो।

अन्ततः लोकतान्त्रिक प्रक्रियामा जनादेश एउटा जीवित प्रक्रिया हो। जनताले कुनै शक्तिलाई पूर्ण रूपमा स्थायी समर्थन दिँदैनन्; उनीहरूले निरन्तर मूल्यांकन गरिरहेका हुन्छन्। त्यसैले आजको जनादेश कुनै अन्तिम निर्णय होइन, बरु नयाँ परीक्षणको सुरुआत हो।

यदि नयाँ शक्ति वा नेतृत्वले जनताको अपेक्षा अनुसार देशको शासन, सेवा प्रवाह र विकासलाई सही दिशामा अघि बढाउन सके भने यो जनादेश नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक मोड बन्न सक्छ। तर यदि अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सकिएन भने, यही जनादेश भविष्यमा अर्को राजनीतिक निराशाको कारण पनि बन्न सक्छ।

यसैले आजको निष्कर्ष सरल तर गम्भीर छ, जित्नेले काम गरेर देखाउनुपर्छ, हार्नेले आफूलाई सुधार्नुपर्छ। लोकतन्त्रको अन्तिम निर्णायक सधैं जनता नै हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button