इरानविरुद्धको अभियानको ‘नयाँ चरण’ सुरु गर्ने इस्रायली सेना प्रमुखको घोषणा

तेल अवीव: इस्रायलका सेना प्रमुख जनरल एयाल जामीरले इरानविरुद्धको आक्रमण अब नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका छन्। बिहीबार टेलिभिजनमा सम्बोधन गर्दै उनले इस्रायली सेनाले इरान सरकारको संरचना र सैन्य क्षमतामाथिको प्रहार तीव्र पार्ने बताए।

जामीरले भने, “हामीले प्रारम्भिक आश्चर्यजनक आक्रमण गरेर इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रणालीलाई निष्क्रिय पारिसकेका छौं। अब हामी अभियानको अर्को चरणमा प्रवेश गर्दैछौं। हामीसँग थप आश्चर्यजनक कदमहरू छन्, जुन म अहिले खुलासा गर्न चाहन्न। हामी हाम्रा सबै शत्रुहरूको पछि लाग्नेछौं र उनीहरूसम्म पुग्नेछौं।”

उनका अनुसार इस्रायली वायुसेनाले हालसम्म इरानमा दुई हजार पाँच सय हवाई आक्रमण गरिसकेको छ, जसमा छ हजार भन्दा बढी बम र क्षेप्यास्त्र प्रयोग भएका छन्। यी आक्रमणमा इरानका करिब ६० प्रतिशत ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र ८० प्रतिशत हवाई प्रतिरक्षा प्रणाली नष्ट भएको उनको दाबी छ। यससँगै इस्रायलले इरानमाथि लगभग पूर्ण हवाई नियन्त्रण हासिल गरेको पनि उनले बताए।

यो आक्रमण अमेरिकासँगको समन्वयमा भइरहेको जनाउँदै जामीरले अमेरिकी संयुक्त सेना प्रमुख जनरल ड्यान केन र सेन्टकम कमान्डर जनरल ब्राड कुपरसँग निकट सहकार्य भइरहेको बताए।

उनले इस्रायलको उद्देश्य इरान सरकारको सैन्य क्षमता ध्वस्त पारेर उसलाई रणनीतिक रूपमा एकदमै कमजोर बनाउनु र पहिले कहिल्यै नभएको अवस्थामा पुर्याउनु रहेको स्पष्ट पारे।

उत्तरी मोर्चाको अवस्थाबारे जानकारी दिँदै जामीरले लेबनानको सीमा क्षेत्र र भित्री इलाकामा पनि इस्रायलले शक्तिशाली आक्रमण गरिरहेको बताए। दक्षिणी लेबनानका रणनीतिक स्थानहरू कब्जा गर्न सेनालाई आदेश दिइसकिएको उनले पुष्टि गरे।

यसैबीच, इस्रायली सेनाले बेरुतमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमान्डर जैद अली जुमालाई मारिएको जनाएको छ। दक्षिणी लेबनानमा तोपखाना प्रमुखसमेत रहेका जुमा इस्रायलतर्फ हजारौं रकेट, क्षेप्यास्त्र र ड्रोन आक्रमणको योजना बनाउने जिम्मेवारीमा रहेको सेनाको दाबी छ।

उल्लेखनीय छ, शनिबार अमेरिका र इस्रायलले इरानमाथि संयुक्त आक्रमण गरेको प्रतिक्रियास्वरूप इरानले इस्रायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा ठूलो पैमानामा आक्रमण गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button