विश्वभरबाट राष्ट्रपति सीलाई घोडा वर्षको शुभकामना, नेपालको पनि सद्भावना

काठमाडौं, फागुन ५: चिनियाँ नयाँ वर्ष (घोडा वर्ष) तथा वसन्त पर्व २०२६ का अवसरमा विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरूले चिनियाँ राष्ट्रपति एवं कम्युनिष्ट पार्टी अफ चाइना केन्द्रीय समितिका महासचिव सी चिनफिङलाई हार्दिक शुभकामना सन्देश पठाएका छन्। उनीहरूले चिनियाँ जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो शुभकामना सन्देशमा विगत एक वर्षमा रुस–चीन नयाँ युगको व्यापक रणनीतिक साझेदारी सम्बन्धले सकारात्मक गति लिएको उल्लेख गर्दै सन् २०२६ मा दुवै देशले संयुक्त रुपमा ‘रुस–चीन शिक्षा वर्ष’ सञ्चालन गर्ने जानकारी दिए।
ब्राजिली राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चीनसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै न्यायपूर्ण विश्व र दिगो ग्रहको निर्माणका लागि ब्राजिल–चीन साझा भविष्यको समुदाय निर्माण गर्न सँगै काम गर्न तत्पर रहेको बताए।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो देश चीनसँगको सहकार्य अझ सुदृढ पार्दै विश्व शान्ति र विकासमा सकारात्मक योगदान पुर्याउन तयार रहेको उल्लेख गरे।
लाओ पिपुल्स रिभोलुसनरी पार्टीका महासचिव एवं राष्ट्रपति थोङ्लुन सिसुलिथले चिनियाँ जनताले १५औं पञ्चवर्षीय योजनाको नयाँ यात्रालाई सफलतापूर्वक अघि बढाउने विश्वास व्यक्त गरे।
सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुचिचले राष्ट्रपति सीको नेतृत्वमा चीनले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहने बताए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देश जारी गर्दै बहुपक्षीयता र विश्वव्यापी एकताको समर्थन गरेकोमा चीन र त्यहाँको जनतालाई धन्यवाद ज्ञापन गरे। उनले सुरक्षित र समावेशी भविष्य निर्माण गर्न सँगै काम गर्ने आशा व्यक्त गरे।
यसैगरी, चिनियाँ राष्ट्रपति सीलाई शुभकामना सन्देश पठाउनेहरूमा साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउद, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान, क्युबाका क्रान्तिका नेता राउल कास्ट्रो र क्युबाका कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव एवं राष्ट्रपति मिगेल डियाज–कानेल, कम्बोडियन जनता पार्टीका अध्यक्ष तथा सिनेट अध्यक्ष सामदेच टेको हुन सेन, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेल, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, किर्गिज राष्ट्रपति सादिर जापारोभ, उज्वेक राष्ट्रपति शभकत मिर्जियोयोभ, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ, कंगो गणतन्त्रका राष्ट्रपति डेनिस सासु एन्गेसो, केन्याका राष्ट्रपति विलियम रुटो, जाम्बियाका राष्ट्रपति हाकैन्डे हिचिलेमा, सियरा लियोनका राष्ट्रपति जुलियस माडा बायो, सेनेगलका राष्ट्रपति बासिरु डियोमे फे, घानाका राष्ट्रपति जोन ड्रामानी महामा, कोमोरोसका राष्ट्रपति अजाली असुमानी, गावोनका राष्ट्रपति ब्राइस क्लोटेयर ओलिगुई एन्गेमा, सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनी, बोत्स्वानाका राष्ट्रपति डुमा बोको, सोमालियाका राष्ट्रपति हसन शेख मोहमुद, मध्य अफ्रिकी गणतन्त्रका राष्ट्रपति फस्टिन–अर्चेन्ज टुয়াদেরा, हंगेरीका राष्ट्रपति टामास सुलियोक र प्रधानमन्त्री भिक्टर अर्बान, स्लोभाक राष्ट्रपति पिटर पेलेग्रिनी, आइसल्यान्डकी राष्ट्रपति हाल्ला टोमास्डोतिर, साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडुलाइड्स, स्लोभेनियाकी राष्ट्रपति नतासा पिर्क मुसार, बुल्गेरियाकी राष्ट्रपति इलियाना इयोतोभा, नाउरूका राष्ट्रपति डेभिड एडियाङ, किरिबाटीका राष्ट्रपति तानेती मामाउ, मंगोलियाका राष्ट्रपति उख्नागी खुरेल्सुख, आर्मेनियाका राष्ट्रपति भाहाग्न खाचातुरियान, इरानी राष्ट्रपति मसूद पेजेश्कियान, ओमानका सुल्तान हेथम बिन तारिक अल सईद, इजरायली राष्ट्रपति आइज्याक हर्जोग, ट्युनिसियाका राष्ट्रपति काइस सईद, अस्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान डर बेलेन, बोस्निया र हर्जगोभिनाका परिषदीय अध्यक्ष जेल्को कोम्सिक, क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक, फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पो, एन्टिगुआ र बार्बुडाका गभर्नर–जनरल रोडनी विलियम्स र प्रधानमन्त्री ग्यास्टन ब्राउन, बहामासकी गभर्नर–जनरल सिन्थिया ए प्राट र प्रधानमन्त्री फिलिप डेभिस, डोमिनिका राष्ट्रमण्डलका प्रधानमन्त्री रुजवेल्ट स्केरिट, संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक क्व डोङ्यु, र सांघाई सहयोग संगठनका महासचिव नुरलान येर्मेकबायेभ लगायत रहेका छन्।
विभिन्न महादेश तथा क्षेत्रका नेताहरूबाट प्राप्त यी शुभकामना सन्देशले अन्तर्राष्ट्रिय समुदायमा चीनको बढ्दो प्रभाव र मैत्रीपूर्ण सम्बन्धको द्योतक मानिएको छ। नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले पनि शुभकामना पठाएर छिमेकी मित्रराष्ट्रबीचको सुमधुर सम्बन्धलाई थप बल पुर्याएको छ।





