२९ बैशाख २०८३, मंगलवार

जमिनमुनि सात मिटर तल लुकेको दुई हजार वर्षे रहस्य

चीनको छिन वंशका तामाका गाडी र घोडा, जसको प्रविधि आज पनि रहस्य

बेइजिङ । चीनको इतिहासको सबैभन्दा विशाल र रहस्यमय समाधिस्थल हो, छिन वंशका पहिला सम्राट ‘छिन श व्हाङ’ को मकबरा। यहाँको सबैभन्दा चर्चित खोज हो टेराकोटा सेना (माटोका सैनिक)। तर टेराकोटा फेला पारिएको आठ वर्षपछि, अर्थात सन् १९८० मा, पुरातत्वविदहरूले अर्को ऐतिहासिक खोज गरे। उनीहरूले सम्राटसँगै समाधिष्ट गरिएका तामाका गाडी र घोडाहरू फेला पारे। यस खोजले चीन मात्र होइन, सम्पूर्ण विश्वको ध्यान आकर्षित गर्यो।

यो अमूल्य पुरातात्विक वस्तु पत्ता लगाउने श्रेय जान्छ प्रथम पुरातत्वविद यांग सयु लाई। उहाँले सम्राटको समाधिस्थलदेखि करिब बीस मिटरको दूरीमा सर्भेक्षण गरिरहनुभएको थियो। त्यही क्रममा अकस्मात जमिनमुनि करिब सात मिटर तल औंलाजत्रो सुनौलो रंगको वस्तु देख्नुभयो। उहाँले सो वस्तु तत्कालीन स्थानीय निर्देशक छ्वाङ स्वे व्हा लाई हस्तान्तरण गर्नुभयाे। श्री छ्वाङले त्यो वस्तु देख्नासाथ अत्यन्तै उत्साहित हुँदै अनुमान गरे ‘यो त चिनियाँ पुरातत्वविदहरूले दशकौंदेखि खोजिरहेको तामाको गाडी र घोडा हो।’

यसपछि विशेषज्ञहरूको निगरानीमा एक महिनासम्म लगनशीलतापूर्वक सर्भेक्षण र उत्खनन कार्य गरियो। जमिनको सात दशमलव आठ (७.८) मिटर तल उनीहरूले भेट्टाए दुईवटा तामाका गाडी, आठवटा काँसका घोडा, र अन्य दुईवटा तामाका वस्तुहरू। यी सबै सुन्दर ढङ्गले कुँदिएर, अत्यन्तै कलात्मक तरिकाले निर्माण गरिएका थिए। यी तामाका गाडी र घोडा वास्तविक आकारको करिब पचास प्रतिशत मात्र ठूला छन्।

तर ती मूल्यवान वस्तुहरू जमिनबाट कसरी निकाल्ने ? यो नै थियो सबैभन्दा ठूलो चुनौती। विशेषज्ञहरूले लामो छलफलपछि एउटा साहसिक योजना बनाए। उनीहरूले ती गाडी र घोडाको वरिपरि दश मिटर चौडा खोपा बनाए। त्यसपछि काठको बलियो बाकसमा ती वस्तुहरूलाई वरपरको एक मिटर माटोसहित नै राखेर सुरक्षित रूपमा माथि उठाइयो। त्यसपछि तिनलाई ‘छिन वंशको टेराकोटा प्रदर्शन कक्ष’ मा सारियो। यो प्रक्रिया अत्यन्तै जोखिमपूर्ण थियो, तर विशेषज्ञहरू सफल भए।

अर्को ठूलो चुनौती थियो, मर्मत। ती सवारीहरू दुई हजार वर्षभन्दा बढी समयदेखि जमिनमुनि थिए। तिनलाई मर्मत गरेर मात्र प्रदर्शनमा राख्न सकिन्थ्यो। करिब दुई वर्ष लामो मर्मत कार्य चल्यो। कुशल प्राविधिक र पुरातत्वविदहरूको टोलीले दिनरात मेहनत गरे। अन्ततः ती तामाका गाडी र घोडा प्रदर्शनका लागि तयार भए। तिनलाई देखेर आजसम्मको कुनै पनि आगन्तुक अचम्भित हुन्छ। सानो आकारका यी सवारीहरूले विश्वभरका विज्ञहरूलाई पनि छक्क पारेका छन्।

यी तामाका गाडी र घोडाको निर्माण प्रविधि अत्यन्तै उन्नत छ। ती यति कुशलतापूर्वक बनाइएका छन् कि हेर्ने जोकोही मुग्ध हुन्छ। विशेष कुरा के छ भने तिनको निर्माणमा प्रयोग गरिएका केही प्रविधिहरू हालसम्म पनि प्रयोग गरिन्छन्। तर अझै बढी छक्क पार्ने कुरा केही प्रविधिहरू अझै पनि पहेली नै छन्। अर्थात, आधुनिक विज्ञान र प्रविधिले पनि दुई हजार वर्ष पुरानो त्यो निर्माण कला पूर्ण रूपमा बुझ्न सकेको छैन। यसले पुरातत्व क्षेत्रमा ठूलो बहस पैदा गरेको छ।

छिन श व्हाङ (इसापूर्व २५९–२१०) चीनलाई पहिलो पटक एकीकृत गर्ने सम्राट मानिन्छ। उनको समाधिस्थलको क्षेत्र विशाल छ। अहिलेसम्म त्यहाँ हजारौं माटाका सैनिक, काँसका हतियार, तामाका सवारी र अनगिन्ती अन्य वस्तुहरू भेटिसकिएका छन्। तर पुरातत्वविदहरूको अनुमान छ, अझै धेरै रहस्य जमिनमुनि लुकेका छन्। हरेक नयाँ उत्खननले नयाँ अचम्म पार्ने वस्तु निस्कन्छ। यो क्षेत्र अझै पनि विश्वकै सबैभन्दा कम खोजिएको ठूलो पुरातात्विक स्थल मध्ये एक हो।

चिनियाँ पुरातत्वविद यांग सयु र छ्वाङ स्वे व्हा को यो खोजले विश्वलाई एउटा महत्वपूर्ण सन्देश दियो। इतिहास जति पुरानो हुन्छ, त्यति नै ठूलो रहस्य लुकाएको हुन्छ। आजभन्दा दुई हजार वर्ष पहिले मानिसले यति उन्नत प्रविधि कसरी विकास गरेको थियो ? यो प्रश्नको जवाफ अझै कसैसँग छैन। यी तामाका गाडी र घोडा अहिले चीनको षान्सी प्रान्तमा रहेको ‘छिन श व्हाङ टेराकोटा सैनिक संग्रहालय’ मा राखिएका छन्। हरेक वर्ष लाखौं पर्यटक विदेशी तथा स्वदेशी आगन्तुकले ती अद्भुत वस्तुहरू आफ्नै आँखाले हेर्न जान्छन्।

तर ती हेरेर फर्कनेहरूको मनमा एउटै प्रश्न बाँकी रहन्छ। ‘दुई हजार वर्ष पहिले यति सुन्दर र उन्नत सवारी कसरी बनाइयो होला ?’ जवाफ अझै पत्ता लागेको छैन। यो नै यी तामाका गाडी र घोडाको सबैभन्दा ठूलो रहस्य हो। यो रहस्य जति लामो समय पुरानो छ, त्यति नै यो मन मोहक पनि छ। चीनको प्राचीन सभ्यता कति विकसित थियो भन्ने एउटा अद्भुत उदाहरण हुन्, यी तामाका गाडी र घोडा। यी हेर्न नपाउनेहरूले पनि एकपटक हेर्नै पर्छ। यो एउटा यस्तो यात्रा हो जसले तपाईंलाई दुई हजार वर्ष पुरानो युगमा पुर्याइदिन्छ। जहाँ इतिहास मात्र होइन, अचम्म र रहस्य पनि जीवित छ। त्यहाँ पुग्नु भनेको केवल संग्रहालय जानु होइन, समयमै यात्रा गर्नु हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button