तेह्रथुमको लालीगुराँसले रासायनिक मललाई गर्यो ‘बाइबाइ’, कृषकको मन जित्दै अर्गानिक खेतीले पायो ‘हाइहाइ’

तेह्रथुम । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पर्दै गएको गम्भीर जोखिम र माटोको उर्वराशक्तिमा आएको ह्रासलाई चिर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकता बनाएर ‘विषरहित थाल’ को अभियान थालेको छ। नगरका नौवटै वडामा स्थानीय कृषकको उत्साहजनक सहभागितासँगै अर्गानिक खेती विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ।
रसायनयुक्त खाद्यान्नको दीर्घकालीन सेवनले शरीरमा निम्त्याउने रोगहरूको बढ्दो ग्राफलाई मध्यनजर गर्दै नगरपालिकाले अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजनाको रूपमा अघि सारेको हो। यसका लागि ‘सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली कार्यविधि’ नै तयार पारी कार्यान्वयनमा ल्याइएको छ, जसले किसानलाई गुणस्तरीय र विशुद्ध अर्गानिक उत्पादनतर्फ प्रोत्साहित गरेको छ।
नगरप्रमुख अर्जुन माबोहाङका अनुसार, अर्गानिक खेतीलाई व्यवसायीकरण गर्न प्राविधिक जनशक्तिको सहयोग उपलब्ध गराइनुका साथै मापदण्डअनुसार उत्पादन गर्ने कृषकबाट ‘कृषि एम्बुलेन्स’ मार्फतै समर्थन मूल्यमा उत्पादन खरिद गर्ने तयारी गरिएको छ। नगरपालिकाले कृषकलाई न्यूनतम एक रोपनीदेखि अधिकतम चार रोपनीसम्म क्षेत्रफलमा अनिवार्यजस्तो अर्गानिक विधि अपनाउन प्रोत्साहन गर्ने नीति लिएको छ।
हाल नगरका विभिन्न बस्तीहरूमा तरकारी, अन्नबाली तथा फलफूल खेतीमा स्थानीय मौलिक विधितर्फ फर्कने कृषकको संख्या तीव्र रूपमा बढिरहेको छ। नगर उपप्रमुख जमुना मगर कार्कीले जानकारी दिँदै भनिन्, “अर्गानिक खेती गर्ने उद्देश्यले वडामा सूचीकृत भई नगरपालिकामा दर्ता भएका कृषकलाई बीउबिजन, हेलटेक (प्रशोधित गोबरमल) लगायतका सामग्री निःशुल्क उपलब्ध गराइएको छ।”
उत्पादित वस्तु बारीमै नकुहियोस् भन्नका लागि नगरपालिकाले ढुवानीको बन्दोबस्त पनि मिलाएको छ। दुईवटा कृषि एम्बुलेन्स सञ्चालनको तयारी भइरहेको छ, जसमध्ये एउटा एम्बुलेन्स नगरपालिकाले खरिद गरिसकेको छ। यस सेवाले दुर्गम बस्तीमा फलेका हरिया सागसब्जी र फलफूलहरू छिटो र सहज रूपमा स्थानीय बजार तथा उपभोक्ताको घरघरसम्म पुर्याउने लक्ष्य राखेको छ।
कृषि शाखा प्रमुख आर्यल लिम्बूका अनुसार, अहिलेसम्म नगरभरि १ हजार २ सय ७५ जना कृषक अर्गानिक खेतीमा औपचारिक रूपमा सूचीकृत भइसकेका छन् र यो संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ। रासायनिक मल तथा विषादीको मूल्यवृद्धिले लागत खर्च घट्नु, स्वास्थ्यमा हुने नकारात्मक असर कम हुनु र जमिनको दीर्घकालीन उत्पादन क्षमता जोगिनु नै किसानको आकर्षणको प्रमुख कारण बनेको छ।
स्थानीय कृषक ज्ञानेन्द्र बस्नेतको अनुभवले पनि यसलाई पुष्टि गर्छ। उनी भन्छन्, “रासायनिक खेतीमा बोट त छिटो बढ्छ तर लगानी धेरै चाहिन्छ। अर्गानिकमा पहिलो वर्ष अलि मेहनत बढी लागे पनि पछि माटो मलिलो हुँदै जान्छ र उत्पादनले बजारमा मोल पनि बढी पाउँछ।”
अहिले लालीगुराँस नगरवासीले रासायनिक विषादीको सट्टा गाईभैंसीको गोबर-मुत्र, तितेपाती, असुरो र खरानीजस्ता घरेलु तथा प्राकृतिक स्रोतको प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गरिरहेका छन्। नगरभित्र आलु, बन्दा, मटर तथा हरियो सागसब्जीमा यो विधिको प्रयोग व्यापक भइसकेको छ। लालीगुराँसको यो ‘ग्रिन मोडल’ ले छिमेकी स्थानीय तहलाई समेत विषरहित कृषितर्फ उत्प्रेरित गर्ने देखिन्छ।





