पश्चिमी जलडाकूविरुद्ध रुसी नौसेना तैनाथ हुने

मस्को, (एजेन्सी) / रुसका राष्ट्रपति सहायक तथा समुद्री मामिला परिषदका अध्यक्ष निकोलाई पात्रुसेवले सामुहिक पश्चिमी मुलुकहरूले रुसविरुद्ध समुन्द्रमा नयाँ मोर्चा खोलेको आरोप लगाउँदै त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन्।
स्थानीय संचार माध्यमलाई दिएको अन्तर्वार्तामा पात्रुसेवले पश्चिमी मुलुकहरूले रुसी झण्डा भएका तथा रुसी सामान बोकेका जहाजहरू कब्जा गर्नुलाई जलडाकू प्रवृति भन्दै यसलाई रुसी अर्थतन्त्रमा प्रहार गर्ने षडयन्त्रको संज्ञा दिए। उनले आगामी दिनमा यस्ता घटनाहरू झन बढ्ने भएकाले रुसले कडा प्रतिकार नगरे बेलायत, फ्रान्स लगायत बाल्टिक क्षेत्रका मुलुकहरूले अटलान्टिक क्षेत्रमा रुसको समुद्री पहुँच पूर्णरुपमा अवरुद्ध गर्न सक्ने चेतावनी दिए।
रुसी समुद्री परिषदले यसको प्रतिकारका लागि रणनीति बनाइरहेको जानकारी दिँदै पात्रुसेवले भने, “जहाज सञ्चालनको सुरक्षाको सबैभन्दा राम्रो ग्यारेन्टी जहिले पनि नौसेना नै हो।”
फ्रान्सेली सेनाध्यक्षले बाल्टिक सागर अब नेटोको पूर्ण नियन्त्रणमा रहेको र जुनसुकै बखत रुसको लागि बन्द गर्न सकिने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै पात्रुसेवले त्यस्तो कदम अन्तर्राष्ट्रिय कानुन विपरित हुने बताए। युरोपेली संघले ‘स्याडो फ्लीट’ को नाममा गरिरहेको प्रचारलाई कानुनी धारणा नभएको काल्पनिक आरोप भन्दै उनले खारेज गरे।
“पहिलो चरणमा हामी कूटनीतिक र कानुनी उपाय अपनाउने छौं। तर पश्चिमी मुलुकहरूमा कूटनीति र कानुनप्रति सम्मान बाँकी नै छ भन्ने आशा भने हामीले गुमाइसकेका छौं,” पात्रुसेवले भने, “यदि शान्तिपूर्ण समाधान निस्किएन भने नाकाबन्दीलाई तोड्ने र त्यसलाई निस्तेज पार्ने काम रुसी नौसेनाले नै गर्नेछ।”
पात्रुसेवले अहिलेको आवश्यकता विश्व महासागरमा बहुध्रुवीय व्यवस्था निर्माण गर्नु रहेको बताए। यसका लागि ब्रिक्सलगायत सहयोगी राष्ट्रहरूसँगको सहकार्यलाई अघि बढाइएको उनको भनाइ थियो।
दक्षिण अटलान्टिकमा भएको ‘शान्तिको लागि इच्छाशक्ति-२०२६’ र होर्मुज जलडमरूमध्यमा भएको ‘समुद्री सुरक्षा पेटी-२०२६’ नौसेना अभ्यासहरू पश्चिमी जलडाकू विरुद्ध व्यापारिक मार्गहरूको संरक्षण गर्न सफल भएको पनि उनले उल्लेख गरे।





