जनकपुरधामको जनतन्त्र: बालेनको ‘गेटअप’ र गगनको ‘गफ’

# अविनाश शर्मा
फागुन २१ गते हुने उपनिर्वाचनको सन्दर्भमा जनकपुरधाममा भएको नेपाली कांग्रेसको बृहत आमसभा केवल एउटा चुनावी र्याली मात्र नभएर मधेशको राजनीतिमा एउटा नयाँ ध्रुवीकरणको संकेत बनेको छ। करिब एक महिनाको अन्तरालमा भएका दुई ठूला राजनीतिक सभा रास्वपा र कांग्रेसले मधेशको मतदाता मनोविज्ञानमा आएको गहिरो परिवर्तनलाई उजागर गरेका छन्। जहाँ रास्वपाको सभा ‘बालेनको गेटअप’ हेर्न उत्सुक किशोर–युवाको भीड थियो, कांग्रेसको जनकपुर सभा नयाँ नेतृत्वप्रति आशा र भरोसा राख्ने परिपक्व कार्यकर्ताको जमघट बनेको थियो। यसले मधेशको राजनीतिमा व्यक्तित्वभन्दा माथि उठेर नीति, नेतृत्व र पहिचानको गहिरो बिमर्श शुरु भएको संकेत गर्दछ।
राजनीतिक विश्लेषणका दृष्टिले हिजोको जनकपुर आमसभा र माघ ५ गते रास्वपाको सभाबीच आकाश–जमिनको फरक देखिन्छ। मधेशका राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको सभामा उपस्थित ६० प्रतिशतभन्दा बढी युवा केबल काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को ‘कालो चस्मा र गेटअप’ हेर्न आएका थिए। उक्त सभामा बालेनले सम्बोधन गरेपछि रवि लामिछानेको पालो आउँदासम्म अधिकांश युवाले मैदान छाडिसकेको तीतो यथार्थले रास्वपाको ‘युथ अपिल’ अस्थिर र सतही रहेको प्रमाणित गरेको छ।
यसको ठीक विपरीत, कांग्रेसको आमसभामा उपस्थित ८० प्रतिशत सहभागी पार्टीप्रति प्रतिबद्ध खाँटी कार्यकर्ता र मतदाता थिए। उनीहरू नयाँ सभापति गगनकुमार थापाले के भन्छन् भन्ने जिज्ञासा र उत्सुकताले अबेरसम्म मैदानमा टिकेर बसेका थिए। यो तथ्यांकले मधेशको राजनीतिमा व्यक्तित्व भन्दा नेतृत्व र एजेन्डा ठूलो हुने कुरालाई पुष्टि गर्दछ। रास्वपाको सभा ‘बालेनको दर्शन’ को लागि भएको भए कांग्रेसको सभा ‘गगनको दर्शन’ सुन्न र बुझ्नको लागि भएको थियो।
मधेशको मतदाता मनोविज्ञानमा बालेनप्रति देखिएको मोहभंग र आक्रोशले रास्वपाको चुनावी अभियानलाई ठूलो धक्का पुगेको देखिन्छ। मधेशी मतदाताहरूले बालेनसामु राखेका जिज्ञासाहरूले गहिरो असन्तुष्टि झल्काउँछन्। ‘बालेनलाई मधेशको माया हुन्थ्यो भने उनले आफ्नो जातीय पहिचान किन तेली साहबाट ठकुरी शाह बनाए?’ भन्ने प्रश्नले मधेशी समुदायमा उनीप्रति गहिरो अविश्वास जन्मिएको छ। नागरिकता संशोधन गरेर पहिचान फेर्नु, मधेशी दुलही नल्याउनु, र महानगरको सचिवालयमा एक जना पनि मधेशी युवालाई सल्लाहकार नराख्नुले उनीप्रतिको आशंकालाई बल पुर्याएको छ ।
यसबाहेक सप्तरीमा मधेशी पहिचानका लागि लडेका स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेर जानु, क्यामरा पन्छाउने र पत्रकारप्रति देखाएको रुखो व्यवहारले उनको अपरिपक्व छविलाई उजागर गरेको छ। ‘केटाकेटी पाराले मुलुक चलाउन सकिन्छ?’ भन्ने प्रश्न अहिले मधेशका सडकदेखि चिया पसलसम्म गुञ्जिरहेको छ।
यता नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनकपुरको आमसभालाई ऐतिहासिक सम्बोधन गर्दै मधेशप्रति प्रतिबद्धता र भरोसाको नयाँ राजनीतिको श्रीगणेश गरेका छन्। उनले मधेशप्रति ‘छोरा र माटोको सम्बन्ध’ को व्याख्या गर्दै भने, ‘मधेशी आमाको रगत मेरो शरीरमा नभए पनि मेरो छातीमा दुर्गानन्द झाको साहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ’।
गगनले कांग्रेसको नेतृत्वमा भएको आन्तरिक सुधार र ‘टिम नेपाल’को अवधारणा प्रस्तुत गर्दै अब कांग्रेस अरू दललाई नभई गरिबी, भ्रष्टाचार र बेरोजगारीलाई हराउन मैदानमा उत्रिएको घोषणा गरे। उनले मधेशलाई पुनः ‘अन्नको भण्डार र ज्ञानको केन्द्र’ बनाउने संकल्प गर्दै सिंहदरबार छिर्दा मधेशीले ‘हम मधेशी छी’ भनेर गर्वले भन्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाए।
रास्वपाकी मधेश प्रदेश प्रमुख ममता शर्मा कांग्रेस प्रवेशले पनि रास्वपाको आन्तरिक विघटन र कांग्रेसप्रति बढ्दो आकर्षणको संकेत गरेको छ। उनले रास्वपामा दागी व्यक्तिहरू हाबी भएपछि पार्टी छाडेको बताउँदै मैथिलीमा सम्बोधन गर्दै भनिन्, ‘मधेशका मतदाताले सधैं नेतालाई भोट दिन्छन्, तर नेताले सधैं मधेशीलाई ठग्छन्। यसपालि मधेशमा राम्रो उम्मेदवार छान्नुहोस्, कांग्रेसका उम्मेदवार चिन्नुहोस्’ ।
हिजोको आमसभापछि नेपाली कांग्रेसका स्थानीय नेताहरूले गरेको प्रारम्भिक लेखाजोखा अनुसार मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले कम्तीमा १६ सिट जित्ने दाबी गरिएको छ। यस विश्लेषणअनुसार एमाले बढीमा ६, जसपा ४, नेकपा (माओवादी केन्द्र) ३, र रास्वपा २–३ सिटमा सीमित हुने अनुमान छ । यद्यपि समानुपातिकतर्फ रास्वपाले पहिलेको तुलनामा राम्रो मत पाउन सक्ने आकलनले उसको अस्तित्व जोगिने सम्भावना छ।
जनकपुरको आमसभाले मधेशको राजनीतिमा आएको गुणात्मक परिवर्तनलाई स्पष्ट रूपमा उजागर गरेको छ। बालेनको ‘स्टार पावर’ मा भर परेको रास्वपा पहिचान, विश्वसनीयता र परिपक्व नेतृत्वको कसीमा खरो उत्रन असफल देखिएको छ। अर्कोतर्फ नेतृत्व परिवर्तनपछि उत्साहित कांग्रेसले मधेशको माटोसँग जोडिने नयाँ शैली र भाष्य निर्माण गरेको छ। गगन थापाको ‘मधेशको छोरा’ बन्ने घोषणा र मधेशी पहिचानको सम्मानको प्रतिबद्धताले कांग्रेसप्रति पुरानो अविश्वासलाई तोड्ने प्रयास गरेको छ।
मधेशको मतदाता अब केवल ‘केटाकेटी पारा’ र व्यक्तित्व पूजामा रमाउने अवस्थामा छैन। उसले परिपक्व नेतृत्व, पहिचानको सम्मान र सुशासनको ग्यारेन्टी खोजिरहेको छ। यस अर्थमा हिजोको जनकपुर आमसभाले फागुन २१ को चुनावी नतिजामा मात्र नभई आगामी दिनमा मधेशको राजनीतिक दिशा निर्धारणमा पनि निर्णायक भूमिका खेल्ने देखिन्छ। रास्वपाले मधेशमा देखेको सपना र कांग्रेसले देखाएको भरोसाबीच मधेशको मतदाताले गर्ने छनोटले नेपालको राष्ट्रिय राजनीतिलाई पनि नयाँ दिशा दिन सक्छ।





