भदौ २३–२४ महाविनाश: देशलाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्र’ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनालाई ‘महाविनाश’ र ‘महाअपराध’को संज्ञा दिँदै ती दिन सम्पूर्ण व्यवस्थामाथि नै धावा बोलिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अहिले भत्काउने र बनाउने शक्तिबीचको द्वन्द्वमा फसेको र यसलाई फेरि ‘प्रयोगशाला’ बनाउन खोजिएको चेतावनी दिए।

ओलीले भदौ २३ र २४ को विध्वंसपछि देशमा अनिश्चयको बादल मडारिएको उल्लेख गर्दै भने, ‘यतिबेला देश यस्तो दोबाटोमा उभिएको छ। एकातिर रीस, आवेग र आक्रोश छ भने अर्कोतिर विवेक र जिम्मेवारी छ।’ उनले देशलाई फेरि प्रयोगशाला बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत रहन आग्रह गरे।

अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभई नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण भएको दाबी गरे। ‘राष्ट्रविरुद्ध भएको त्यो महाअपराधको अनुहार छोप्न केही तत्वले नयाँ शक्तिको मुकुन्डो लगाएर प्रस्तुत भए,’ उनले भने, ‘हामीले तिनलाई चिन्न ढिला गर्नु हुँदैन।’

उनले जेन–जी प्रदर्शनकारीहरूको बारेमा प्रश्न उठाउँदै भने, ‘उनीहरूले हुँदै नभएको माग राखे, संसद विघटन किन गरियो भन्ने प्रश्न उठाए। के यी घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध ?’ उनले यी प्रश्नहरूको जवाफ खोजिनुपर्ने बताए।

२०७९ को चुनावमा देश राजनीतिक दुष्चक्रमा फसेको टिप्पणी गर्दै ओलीले त्यतिबेला एमालेले राजनीतिक स्थायित्वको पक्षमा मत मागेको स्मरण गराए। उनले आफूहरू विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको र एमालेको गन्तव्य ‘सुखी नेपाल, समृद्ध नेपाल’ मात्र रहेको स्पष्ट पारे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button