‘राजाको सन्देशलाई राप्रपाको स्वागत, राष्ट्रिय सहमतिको पहल अघि बढाउने निर्णय

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक आज केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको छ। चुनावी अभियानका क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहनुभएकाले उहाँकै निर्देशन अनुसार वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा लगायत उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको जनाइएको छ।
बैठकले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिएको सन्देशलाई स्वागत तथा समर्थन गर्ने निर्णय गरेको छ। राप्रपाले राष्ट्रको समस्या समाधान नगरी केवल निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने धारणा व्यक्त गर्दै निर्वाचनपछि देखिने द्वन्द्व, अशान्ति र खिचातानी नदोहोरिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरेको छ।
पार्टीले मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएको छ। राप्रपाले यसअघि पनि सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको र विभिन्न राजनीतिक दलहरूसँग संवाद तथा विचार–विमर्श गरिरहेको जानकारी दिएको छ।
बैठकले यथासम्भव निर्वाचनअघि नै राष्ट्रिय समस्या समाधानका लागि सहमति निर्माण गर्न सरकार र राजनीतिक दलहरूसँग पुनः आग्रह गर्ने निर्णय गरेको छ। साथै, राजाको सन्देश तथा पार्टीको नीतिअनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा जुट्दै राष्ट्रिय सहमतिका पक्षमा जनमत सिर्जना गर्न आम जनतालाई आह्वान गरिएको छ।
प्रेस विज्ञप्तिमा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ।





