‘भ्रष्टाचार गरे २० वर्षपछि पनि सजाय, नियुक्तिमा भागबन्डा होइन अब्बल व्यक्ति’ : गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेमा २० वर्षपछि पनि सजाय हुने कानुनी मान्यता स्थापित गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रतिज्ञापत्रमाथिको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन निर्माणदेखि डिजिटल सेवा विस्तार र नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्थासम्मको प्रतिबद्धता जनाए।
भ्रष्टाचार नियन्त्रणका लागि ‘प्रोजेक्ट गभर्मेन्ट’ अन्तर्गत करिब ७ वर्षदेखि कानुन निर्माणको तयारी भइरहेको उल्लेख गर्दै थापाले अख्तियार र नीतिगत भ्रष्टाचार हेर्ने कानुन ६ महिनाभित्र ल्याइने बताए। ‘तोकिएको अधिकारीले तोकिएको समयमा काम नगर्नुलाई पनि भ्रष्टाचार मान्ने कानुन बनाएर कार्यान्वयन गर्छौं,’ उनले भने।
थापाले आफ्नै पार्टीका नेता वा पूर्वप्रधानमन्त्री नै किन नहुन्, भ्रष्टाचार गरेको पुष्टि भए कारबाही गर्न कांग्रेस पछि नहट्ने स्पष्ट पारे। ‘तपाईंको पार्टीका हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नु भएको प्रत्येक पदमा भ्रष्टाचार गरेको खण्डमा नेपाली कांग्रेस पार्टीले आयोगको निर्णयलाई कार्यान्वयन गर्छ,’ उनले भने, ‘यसमा नेता वा नाता हेर्दैन।’
संवैधानिक नियुक्तिमा दलीय भागबन्डा नहुने प्रतिबद्धता जनाउँदै थापाले भने, ‘नियुक्तिमा अब दल होइन, अब्बल व्यक्ति। अबको ५ वर्षमा नेपाली कांग्रेसले संवैधानिक परिषद वा आयोगहरूमा भागबन्डा माग्ने छैन। विश्वविद्यालय वा अन्य संस्थामा पनि यस्तो हुनेछैन। संस्थागत सुधारबिना यो सम्भव छैन।’
उनले प्रधानमन्त्री मातहत ‘गभर्नेस ल्याब’ र प्रत्येक मन्त्रालयमा ‘गभर्नेस युनिट’ स्थापना गर्ने, स्वास्थ्य मन्त्रालयको आफ्नो अनुभवका आधारमा त्यस्तो संरचनाले कामलाई प्रभावकारी बनाउने बताए। पासपोर्ट र सवारीचालक अनुमतिपत्रजस्ता सेवा एक दिनमा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै उनले भने, ‘एक घण्टामा सेवा दिने भनेपछि त्यसैअनुसार हुनुपर्छ।’
डिजिटल सार्वजनिक सेवा ७ दिन २४ घण्टा उपलब्ध हुने र ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था गरिने पनि उनले बताए। गठबन्धन मिलाउन मन्त्रालय बढाउने बहानामा कुनै पनि मन्त्रालय नबढाइने स्पष्ट पार्दै उनले संस्थागत सुधार र भ्रष्टाचार अन्त्यलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताए।





