‘देश बनाउने र भत्काउनेबीचको जनमतसंग्रह’ : ओली
तत्काल गर्ने ११ कामसहित एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं — नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै तत्काल गर्ने ११ कामको सूची समेटिएको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई समेटिएको घोषणापत्र सार्वजनिक गर्दै यसलाई नीतिगत प्राथमिकतामा राखिएको बताए।
अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने मन्त्रिपरिषद्को सरकारबाट समयसीमा नै तोकेर तत्काल गरिने ११ कामको कार्यतालिका तय गरिने जानकारी दिए। उनले देश पुस्ताहरूबीचको द्वन्द्वले नबन्ने स्पष्ट पार्दै भने, ‘युवाको शक्ति र अनुभवी पुस्ताको भिजनबाट मात्र देश बन्छ।’
ओलीले यो निर्वाचनलाई देश बनाउने र भत्काउने शक्तिबीचको जनमतसंग्रहको संज्ञा दिए। ‘यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष पनि हो,’ उनले भने, ‘संविधानको रक्षा गर्न र लोकतन्त्र सुदृढ गर्न यो निर्वाचन निर्णायक हुनेछ।’
एमाले अध्यक्षले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन घोषणापत्रमा उल्लिखित कार्ययोजना पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले घोषणापत्रले रोजगारी, सामाजिक न्याय, सुशासन र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको पनि उल्लेख गरे।
प्रस्तुत घोषणापत्रमा देशको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर ठोस कार्ययोजना समावेश गरिएको एमाले नेताहरूले बताएका छन्।





