२६ चैत्र २०८२, बिहीबार

नेपालको विवशता, सन्तुलन र पुँजीवादी फेदको यथार्थ

# प्रेम सागर पाैडेल

इतिहासका पानाहरू पल्टाउँदा एउटा अकाट्य सत्य बारम्बार उदाङ्गो हुन्छ। विश्व राजनीति कहिल्यै पनि मित्रताको बगैंचा थिएन, यो त सधैं स्वार्थको बजार रह्यो। यो बजारमा आज एक्काइसौं शताब्दीको मध्याह्नमा टेकेर हेर्दा एउटा नयाँ तर पुरानै बनोटको ‘डोको’ देखापरेको छ। जसलाई हामी ‘बहुध्रुवीय विश्व व्यवस्था’ भन्छौं। शक्तिशाली राष्ट्रहरू यस डोकोका बाँसका चोयाहरू हुन्। जब उनीहरूको आपसी स्वार्थ मिल्छ “चाहे त्यो कुनै तेस्रो मुलुकको बजार कब्जा गर्ने होस् वा साझा शत्रुलाई निस्तेज पार्ने” उनीहरू डोकोको पीँधमा शान्तसँग बसेर सहकार्यको गीत गाउँछन्। तर जब एउटै शिकारमा दुईवटा बाघको आँखा जुध्छ। त्यही डोकोको मुखमा चढेर उनीहरू एकअर्कामाथि नाङ्गै चोटिला आरोप र आक्रामक प्रहार गर्न पछि पर्दैनन्।

यस ‘डोको’ को सबैभन्दा तल्लो भाग, अर्थात फेदमा भने ‘पुँजी’ र ‘बजार’ नामक दुई बलिया बाँसका चोयाहरू मजबुतसँग बुनिएका छन्। यो फेद नै सम्पूर्ण अन्तर्राष्ट्रिय सम्बन्धको चालक शक्ति हो। र, यसै डोकोको ठीक माँझमा, बहुपक्षीय चेपुवामा परेको एउटा सानो तर भू-रणनीतिक रूपमा अत्यन्त संवेदनशील टुक्रा छ, नेपाल। नेपालजस्तो भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि यो डोकोको पीँधको सहकार्य र मुखको दङ्गाबीचको फरक मात्र बुझेर पुग्दैन। यसको फेदको पुँजीवादी बनावटलाई आत्मसात गर्दै कसरी यो डोकोभित्र सुरक्षित रहने र आफ्नो अस्तित्व जोगाउने भन्ने नै वर्तमान कूटनीतिको मूल मन्त्र हो।

विश्व राजनीतिमा देखिएको यो अवसरवादी चरित्र कुनै नौलो होइन। सन् १९५३ मा जोसेफ स्टालिनको मृत्युपछि सोभियत सङ्घले लिएको दिशा र आज नेपालले अवलम्बन गरिरहेको सन्तुलनको नीति एकै सिक्काका दुई पाटा हुन्। स्टालिनको जीवनकालमा द्वन्द्व वैचारिक थियाे, पुँजीवाद विरुद्ध समाजवाद। त्यो एउटा कठोर द्विध्रुवीय विश्व थियो। जहाँ ‘या त मेरो पक्ष, या त शत्रु’ भन्ने मान्यता हावी थियो। तर स्टालिनको मृत्युसँगै ख्रुश्चेभको ‘शान्तिपूर्ण सहअस्तित्व’ को नीतिले विचारधाराको त्यो पर्खाल कमजोर बनायो। त्यसपछि विश्वले देख्यो कि सोभियत सङ्घ पनि अमेरिकासँग हात मिलाउन तयार भयो। र, अमेरिका पनि सोभियत बजारमा घुस्न आतुर भयो। यो विचारधाराको मृत्यु र ‘व्यवहारिक स्वार्थ’ (Pragmatic Interest) को पुनर्जन्म थियो।

आज नेपाल ठीक त्यस्तै ‘स्टालिनोत्तर’ द्विविधाको शिकार भइरहेको छ। नेपालले अब कुनै एउटा छिमेकीलाई वैचारिक रूपमा आफ्नो ‘गुरु’ मानेर अर्कोसँग सधैंभरि दूरी बनाइरहन सक्ने अवस्था रहेन। नेपालको नयाँ पुस्ताको राजनीतिक नेतृत्वले बुझिसकेको छ कि विश्व अब ‘हिन्दू राष्ट्र’ वा ‘जनवादी केन्द्र’ को वैचारिक लेबलले चल्दैन। विश्व अब डोकोको फेदमा रहेको ‘ऊर्जा’ (जलविद्युत), ‘श्रम’ (वैदेशिक रोजगारी) र ‘पर्यटन’ (भू-स्वर्ग) को बजार मूल्यले मात्र चल्छ। जब नेपालले भारतलाई १०,००० मेगावाट बिजुली बेच्ने सम्झौता गर्छ, दुवै पक्ष डोकोको पीँधमा बसेर ‘रोटी-बेटी’ को सम्बन्धको गुणगान गाउँछन्। तर जब नेपालले चीनसँग केरुङ-काठमाडौं रेलमार्गको सपना देख्छ, त्यही भारत डोकोको मुखमा उभिएर ‘सार्वभौमसत्ताको हनन’ र ‘ऋणको पासो’ को साङ्लो देखाउन थाल्छ।

यहाँ आएर नेपालको विशिष्ट पीडा सुरु हुन्छ। शक्तिशाली राष्ट्रहरू स्वयं डोको बोक्ने र बुन्ने खेलाडी हुन्। उनीहरूले पीँध र मुखको स्थान आफ्नो सुविधाले फेरिरहन सक्छन्। तर नेपालजस्तो मुलुक न यो डोकोको बाँस हो, न त बुन्ने सीप नै। नेपाल त त्यो ‘भारी’ हो, जसलाई शक्ति राष्ट्रहरूले आफूले बोक्ने वा आफ्नो पक्षमा राख्ने प्रतिस्पर्धा गरिरहेका हुन्छन्। यही नै नेपालको ‘याम’ (बिचल्ली) हो।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) वा एमसीसी जस्ता सम्झौताहरू यसै पुँजीवादी फेदका उपज हुन्। यी संस्था र सम्झौताहरूको आडमा शक्ति राष्ट्रहरूले नेपालको नीति निर्माणमा ‘नरम शक्ति’ (Soft Power) को प्रयोग गर्छन्। नेपालको विकासको गति यी शक्तिहरूको ‘सहमति’ (पीँध) मा मात्र अघि बढ्छ। जब नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको कुरा गर्छ, वा पूर्वीय आर्थिक गलियाराको परिकल्पना गर्छ। तब यी शक्तिहरूले डोकोको मुखबाट ‘सुशासन’, ‘मानव अधिकार’ वा ‘पारदर्शिता’ का तीखा प्रहार गरेर हाम्रो आन्तरिक राजनीतिलाई कमजोर बनाइदिन्छन्। भर्खरैको घटनाक्रम हेर्ने हो भने पनि, प्रधानमन्त्री बालेन्द्र साहले २० देशका राजदूतहरूलाई एकै ठाउँमा बोलाएर ‘सामूहिक विकास साझेदारी’ को जुन ‘डोको पीँध’ को दृश्य देखाए, त्यो आफैंमा नेपालको यो चेपुवाको स्वीकारोक्ति हो। “हामी कसैको पनि पक्षमा छैनौं, सबैको साथ चाहन्छौं,” भन्नुको अर्थ हो “हामी यो डोकोको पीँधमा रहन चाहन्छौं, मुखको आक्रमणबाट जोगिन चाहन्छौं।”

तर के यो सन्तुलन सम्भव छ? स्टालिनको मृत्युपछि विश्व शीतयुद्धको कठोर ध्रुवीकरणबाट ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ मा गयो। त्यो संक्रमणकाल नै आजको बहुध्रुवीयताको जननी हो। त्यसबेला भारतले ‘असंलग्न आन्दोलन’ (NAM) को नेतृत्व गर्दै नयाँ शक्ति सन्तुलन खोजेको थियो। नेपालले पनि त्यही बाटो पछ्याउन खोज्यो। तर आजको युगमा ‘असंलग्नता’ को अवधारणा जीर्ण भइसकेको छ। आजको पुँजीवादी अर्थतन्त्रमा कोही पनि असंलग्न रहन सक्दैन। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा झन्डै एक चौथाइ छ। जसको ठूलो गन्तव्य खाडी मुलुक र मलेसिया हो। यी श्रम गन्तव्यहरू स्वयं ठूला शक्तिहरूको ‘पुँजीवादी फेद’ सँग गाँसिएका छन्। त्यस्तै, नेपालको वैदेशिक व्यापारमा भारतको एकछत्र आधिपत्य छ भने पूर्वाधार विकासमा चीनको बढ्दो उपस्थितिले नेपाललाई नचाहँदा पनि डोकोको माँझमा पारेको छ।

यही नै नेपालको सबैभन्दा ठूलो विडम्बना हो। हामी जति नै ‘समान दूरी’ कायम गर्छु भनौं, डोकोको फेदमा रहेको पुँजीवादी संरचनाले हामीलाई अनिवार्यतः एउटा न एउटा पक्षतिर तानिरहन्छ। जब नेपाल भारतसँग ऊर्जा व्यापारमा निर्भर हुन्छ। चीनले ट्रान्स-हिमालयन बहुआयामिक सम्पर्क सञ्जालको प्रस्ताव राखेर हामीलाई अर्को विकल्प दिन्छ। जब नेपाल एमसीसी मार्फत अमेरिकी अनुदान लिन तयार हुन्छ। चीनले बीआरआई मार्फत सहुलियतपूर्ण ऋणको प्रतिस्पर्धी प्रस्ताव अघि सार्छ। यो प्रतिस्पर्धामा नेपालले एउटा छान्नैपर्ने हुन्छ। र जब हामी एउटा छान्छौं, हामी स्वतः डोकोको मुखको निशानामा पर्छौं।

त्यसो भए के नेपालको नियति सधैं यही चेपुवामा मात्र सीमित रहन्छ? पक्कै होइन। इतिहासले सिकाएको पाठ के हो भने, डोकोको बनोट (विश्व व्यवस्था) लाई बदल्न साना राष्ट्रहरू सधैं असफल रहेका छन्। तर त्यस डोकोभित्र आफ्नो ठाउँ बनाउने र आफ्नो भारीको सही मूल्य लिने कला भने साना राष्ट्रहरूले सिक्न सक्छन्।

नेपालले बुझ्नुपर्छ कि विश्व राजनीति ‘सहयोग’ भन्दा ‘लेनदेन’ (Transaction) मा चल्छ। हामीले आफ्नो जलविद्युत, पर्यटन र युवा जनशक्तिलाई चीन र भारतबीचको द्वन्द्वको ‘ढाल’ बनाउनुको सट्टा ‘सेतु’ बनाउनुपर्छ। हामीले डोकोको फेदमा रहेको पुँजीवादी आधारलाई स्वीकार गर्दै आफ्नो आन्तरिक उत्पादन र सुशासनलाई यति बलियो बनाउनुपर्छ कि, पीँधमा बस्नेहरूले हामीलाई ‘भारी’ नभई ‘साझेदार’ ठानून् र मुखमा बस्नेहरूको चोटिला वचनले हाम्रो आन्तरिक एकता भत्किन नपाओस्।

अन्ततः, यो डोको सधैं यसैगरी बहुध्रुवीय भइरहनेछ। कहिले यसको मुख फराकिलो हुन्छ, कहिले पीँध बलियो। तर यसको फेद “पुँजीवादी स्वार्थ” सधैं उही रहनेछ। नेपालले यो फेदलाई चिन्यो र आफ्नो पाइताला यसमा अड्याउन सक्यो भने मात्र हामी यो डोकोको माँझमा परेर पनि आफ्नो संस्कृति र सार्वभौमसत्ताको ‘अक्षता’ जोगाउन सक्छौं।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button