‘विश्वगुरु’को अमिलो अंगुर र ‘दलाल’को महामध्यस्थता
पाकिस्तानले साँच्चै रोकेको अमेरिका–इरान युद्धले भारतलाई किन पोल्यो ?

काठमाडौं । कूटनीतिको पासामा कहिलेकाहीँ सानो चालले ठूलो खेल बदलिदिन्छ। पछिल्लो एक सातामा विश्व राजनीतिको पटलमा यस्तै एउटा नाटकीय मोड आएको छ। अमेरिका र इरानबीच चर्किएको युद्धको आगोलाई कसैले निभायो भने त्यो हो, भारतको चिरप्रतिद्वन्द्वी पाकिस्तान। र, यो सफलताले ‘विश्वगुरु’को छवि बनाउन अहोरात्र खटिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई भने असह्य पीडा दिएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा सुमी सहरमा फसेका भारतीय विद्यार्थी फिर्ता ल्याउन मोदी सरकारले केही घन्टाका लागि सैन्य कारबाही रोक्न रुस र युक्रेन दुवैसँग आग्रह गरेको थियो। नागरिक उद्धारको त्यो कर्तव्यलाई भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२४ को लोकसभा चुनावअघि यति धेरै ‘भजायो’ कि विज्ञापनमै ‘मोदीले रुस–युक्रेन युद्ध नै रोके’ भन्ने दाबी गरियो। तर, त्यो चुनाव सकिएको दुई वर्षपछि पनि त्यहाँ युद्ध जारी नै छ।
यता, साँच्चिकै विश्व अर्थतन्त्रलाई धरापमा पारेको अमेरिका–इरान युद्ध रोक्ने श्रेय भने पाकिस्तानको पोल्टामा परेको छ। ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान अचानक दुई साताको युद्धविराम घोषणा गरे। अरूको कामको पनि जस आफैं लिन माहिर ट्रम्पले यसपटक भने खुला रूपमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख जनरल असिम मुनिरको अनुरोधमै युद्धविराम भएको स्वीकारे।
जयशंकरको ‘दलाल’ संज्ञा र अमिलो अंगुरको स्वाद
यो घटनाक्रमले भारतलाई कूटनीतिक रूपमा अप्ठ्यारो पारेको छ। झन्डै तीन साताअघि पाकिस्तानले मध्यस्थताको पहल थालेको खबर बाहिरिँदै गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरले एक सर्वदलीय बैठकमा ‘भारत पाकिस्तानजस्तो दलाल होइन’ भन्ने टिप्पणी गरेका थिए। युद्धका कारण ग्यास र तेलको आपूर्तिमा समस्या हुँदा भएको सो बैठकमा जयशंकरको यो अभिव्यक्तिलाई विश्लेषकहरूले ‘अमिलो अंगुर’ को उत्कृष्ट उदाहरण मानेका छन्।
आफ्ना विद्यार्थी फर्काउन केही घन्टा युद्ध रोकिँदा ‘युद्ध नै रोकेको’ दाबी गर्ने सरकारका विदेशमन्त्रीले वास्तविक युद्धविरामको पहल गर्दा पाकिस्तानलाई ‘दलाल’ भन्नुको पछाडि व्यक्तिगत इर्ष्या पनि हुन सक्छ। अन्तर्राष्ट्रिय मञ्चमा तीखा अभिव्यक्ति दिएर ‘लेजर आइज’ र ‘सिग्मा मेल’ को उपमाले सम्मानित जयशंकरलाई पाकिस्तानको तारिफयोग्य सफलता पच्न नसकेको हुनुपर्छ।
भारतीय सेनाका पूर्वअधिकृत एवं भूराजनीतिक विश्लेषक सुशान्त सिंहले ‘क्याराभान’ र ‘फरेन पोलिसी’ पत्रिकामा लेख्दै घरेलु राजनीतिक फाइदाका लागि मोदीको व्यक्तिगत छविको भाष्यमा बढी ध्यान दिँदा विश्व मञ्चमा भारतको साख घटेको बताएका छन्।
पाकिस्तान किन बन्यो सफल मध्यस्थकर्ता ?
पहिलो, इरान र पाकिस्तान झन्डै एक हजार किलोमिटर लामो सीमा जोडिएका छिमेकी हुन्। पाकिस्तानमा इरानपछिकै ठूलो शिया जनसंख्या (करिब चार करोड) रहेकाले दुई देशबीचको सांस्कृतिक र धार्मिक निकटता पुरानै हो।
दोस्रो, दुवै देशमा सेना शक्तिशाली छ। इरानमा ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजिसी) र पाकिस्तानमा जनरल मुनिरको सेनाबीचको सम्बन्ध बलियो छ। सन् २०२४ मा एकअर्काको भूमिमा आतंककारीमाथि बमबारी हुँदा पनि यो सम्बन्ध बिग्रिएको थिएन।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, गत वर्षको भारत–पाकिस्तान युद्धपछि जनरल मुनिरले ट्रम्पसँग बनाएको व्यक्तिगत सम्बन्ध नै अहिलेको मध्यस्थताको मुख्य आधार बन्यो। ट्रम्पले उक्त युद्धमा आफूले मध्यस्थता गरेको दाबी गर्दा भारतले अस्वीकार गर्यो। तर पाकिस्तानले भने ट्रम्पलाई खुसी पार्न उनलाई नोबेल शान्ति पुरस्कारकै लागि सिफारिस गरिदियो। त्यसयता मोदीसँग रुष्ट ट्रम्प, मुनिरसँग भने खुसी छन्। उनले मुनिरलाई ह्वाइट हाउसमा एक्लै भेट्ने पहिलो पाकिस्तानी जनरल बनाए।
पाकिस्तानको आफ्नै स्वार्थ पनि उत्तिकै बलियो
युद्धविराम गराउनु पाकिस्तानको बाध्यता पनि थियो। गत सेप्टेम्बरमा पाकिस्तानले साउदी अरेबियासँग आपसी रक्षा सम्झौता गरेको छ। इरानले युद्धका क्रममा साउदीमाथि लगातार प्रहार गरिरहेको थियो। युद्ध चर्किएर साउदी सक्रिय भएमा उक्त सम्झौताका कारण पाकिस्तान पनि युद्धमा होमिनुपर्ने त्रासले पनि मुनिरले यति ठूलो कूटनीतिक पहल गरेको विश्लेषकहरूको ठम्याइ छ।
भारतको परम्परागत इरान सम्बन्धको क्षय
विगतमा असंलग्न नीति अँगालेको भारतको इरानसँग परम्परागत रूपमा राम्रो सम्बन्ध थियो। तर मोदी सरकारको मुसलमान विरोधी छवि र ट्रम्पलाई जसरी पनि खुसी पार्ने नीतिका कारण यो सम्बन्धमा चिसोपन आएको छ। फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमाथि आक्रमण गर्नुभन्दा केही दिनअघि मात्र मोदीले ठूलो तामझामसाथ इसराइलको भ्रमण गरेका थिए। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको हत्या हुँदा पनि भारतले पाँच दिनसम्म कुनै प्रतिक्रिया दिएन।





