‘झोले’ को अपमान र इतिहासको आत्महत्या : के बिर्सिँदैछ हाम्रो पुस्ताले राणा र पञ्चायत चिर्ने ती काँधहरू ?

# झकबहादुर मल्ल ´सुदीप`
आजभोलि सामाजिक सञ्जालको भित्तामा एउटा शब्द निकै प्रचलनमा छ ‘झोले’। फेसबुकको कमेन्ट बक्स होस् वा टिकटकको रिल, राजनीतिक दलका कार्यकर्तालाई होच्याउने, गिज्याउने र उपहास गर्ने सबैभन्दा सजिलो विशेषण बनेको छ यो। झोला भिरेर हिँड्ने, पार्टीको झन्डा बोक्ने र नेताको पछि लाग्नेहरूप्रति आजको पुस्ताले देखाउने यो अवहेलनाले हाम्रो सामूहिक स्मृतिको एउटा गम्भीर सङ्कटतर्फ इशारा गरिरहेको छ। किनकि, आज जसलाई हामी ‘झोले’ भनेर मजाक उडाउँछौं, तिनै काँधहरूले १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरेका थिए, ३० वर्षे पञ्चायती व्यवस्थाको अँध्यारो चिरेका थिए र निरङ्कुश राजतन्त्रको पर्खाल ढालेका थिए।
हामी आज जुन खुला समाजमा सास फेरिरहेका छौं, जहाँ आफ्नो मनको कुरा निर्धक्क भन्न पाइन्छ, जहाँ छुवाछूत र सामाजिक विभेदविरुद्ध कानुन छ, त्यो वातावरण कसैको कृपाले प्राप्त भएको होइन। त्यसका लागि लाखौं मानिसले आफ्नो जवानी, घरबार र सपनाहरू परिवर्तनको वेदीमा होमेका थिए। राजनीतिक दलहरूले खेलेको भूमिका केवल सत्ता प्राप्तिको खेल मात्र थिएन, त्यो त एउटा व्यापक सामाजिक पुनर्जागरणको अभियान थियो।
सत्ता र शक्तिको दुरुपयोगका केही काला पाटाहरू अवश्य होलान्। तर, ती व्यक्तिगत वा सामूहिक कमजोरीका आधारमा समग्र आन्दोलनको इतिहासलाई नै धमिलो ठान्नु कृतघ्नता हुनेछ। सम्झनुहोस् ती दिनहरू, जब गाउँमा कोही बिरामी हुँदा नजिकको अस्पताल पुर्याउनेदेखि मृत्यु संस्कारमा काँध दिनेसम्मको काम तिनै ‘झोले’ भनिएका कार्यकर्ताले गर्थे। “जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि” भनेझैँ, जहाँ राज्यको उपस्थिति शून्य थियो, जहाँ विकासको नाममा शून्यता मात्र थियो, त्यहाँ सामाजिक सद्भाव र न्यूनतम सेवाको सूत्रधार बनेर तिनै कार्यकर्ता पुगेका थिए। आज हामी तिनै काँधहरूमाथि खुट्टा टेकेर उभिएर ‘झोले’ भन्छौं।
आज हामी कञ्चनपुरको दुम्लिङ पुगेर दार्चुलाका हर्क साम्पाङले जनताको आँसु पुछेको देख्छौं र मन खोलेर प्रशंसा गर्छौं। यो प्रशंसनीय पनि छ। तर, यहाँनेर एउटा गम्भीर आत्मालोचना गर्नुपर्ने बेला आएको छ। के हामीले कहिल्यै सोच्यौं? यस्ता हजारौं ‘हर्क साम्पाङहरू’ आज पनि गाउँ–गाउँमा, सहरका गल्ली–गल्लीमा, आफ्नो पार्टीको झन्डा बोकेरै भए पनि निस्वार्थ भावले जनताको सेवा गरिरहेका छन्। उनीहरूले फोटो खिचाएर भाइरल हुन जानेनन् होला, मिडियाको क्यामेरा उनीहरूसम्म पुगेन होला, तर उनीहरूको पसिनाले यो देशको जग भिजेको छ। उनीहरूको त्याग र समर्पणको कुनै चर्चा हुँदैन, बरु उल्टो ‘झोले’ को दागले उनीहरूको पहिचान नै मेटाउने प्रयास भइरहेको छ।
हो, समय बदलिएको छ। पुराना दलहरू समयको मागअनुसार ‘डिजिटल एल्गोरिदम’ बुझ्न चुके होलान्। दलाल र बिचौलियाको जालो तोड्न उनीहरूको कार्यशैली सुस्त देखियो होला। युवापुस्ताको आक्रोश र असन्तुष्टि जायज पनि होला। तर, यसको अर्थ यो कदापि होइन कि इतिहास निर्माण गर्ने ती सबै नेता र नेतृत्व ‘खत्तम’ हुन् र उनीहरूको योगदान शून्य हो।
यहाँ एउटा सामान्य तर गम्भीर सूत्र बुझ्न जरुरी छ : जुन घरमा अभिभावकको मानमर्दन गरिन्छ, त्यो घर कहिल्यै समृद्ध हुँदैन। जुन देशमा आफ्नै इतिहास र नेतृत्वको हुर्मत लिइन्छ र केवल घृणाको खेती गरिन्छ, त्यो राष्ट्रले कहिल्यै सही दिशा लिन सक्दैन। आजको यो ‘प्रतिशोध र बदला’ को भाष्यले हामीलाई एकताबद्ध गर्दैन, बरु यसले हामीलाई टुक्रा–टुक्रा पार्छ।
भर्खरैको विश्व राजनीतिको एउटा उदाहरण हेरौं। इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि त्यहाँको जनता कसरी एक ढिक्का भएर उभिए, त्यो समाचार हामीले पढ्यौं। आफ्नो सभ्यता र मातृभूमि जोगाउन उनीहरूले आन्तरिक मतभेद भुलेर राष्ट्रिय एकताको परिचय दिए। तर, नेपालमा भने अहिले ‘प्रतिशोध र बदला’ को जुन विषादी भाष्य निर्माण गरिँदैछ, त्यसले हामीलाई विभाजनको भुमरीतर्फ मात्र धकेलिरहेको छ।
स्मरण रहोस्, इतिहास सधैं निर्मम हुन्छ। १९ जना निर्दोषलाई गोली हान्दा ढलेको सरकार पनि दुई–तिहाइ बहुमतकै थियो। जनमतको सम्मान गर्न नसक्ने, इतिहासको योगदानलाई बिर्सने र केवल अहंकार मात्र चुलिने हो भने पतन सुनिश्चित हुन्छ। तर, इतिहासलाई गाली गरेर मात्र सुन्दर भविष्य निर्माण हुन सक्दैन। हिजोको जगलाई नै कमजोर ठानेर बनाइने घर कति बलियो होला, सहजै अनुमान गर्न सकिन्छ।
आजको आवश्यकता घृणाको ‘भाइरल’ संस्कृति होइन। हामीलाई चाहिएको छ, इतिहासको जगमा उभिएर वर्तमानका गल्तीहरू आत्मसात गर्दै सुधारको बाटो रोज्ने एउटा साझा संकल्प। कार्यकर्तालाई ‘झोले’ देख्ने चश्मा फुकालेर हेर्ने हो भने, त्यहाँ एउटा इमानदार र देशभक्त नागरिकको अनुहार भेटिनेछ। जसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रमा राखेर जीवन बिताइरहेको छ।
हामीलाई प्रतिशोधको राजनीति होइन, प्रेम र विकासको मार्ग चाहिएको छ। हामीलाई इतिहासको अपमान होइन, इतिहासबाट पाठ सिकेर अघि बढ्ने साहस चाहिएको छ। ‘झोले’ शब्दको उपहासले हैन, तिनै काँधहरूको सम्मानले मात्र यो देशले सही गन्तव्य पक्डनेछ।





