राजाको शालिकमाथि रास्वपा कार्यकर्ता : राप्रपाको कडा भर्त्सना र माफी मागको माग

काठमाडौं / राप्रपा लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले दाङको वीरेन्द्र चोकमा रहेको सर्वप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको शालिकमाथि चढेर अभद्र एवं अपमानजनक गतिविधि गरेको भन्दै कडा भर्त्सना गरेको छ।
राप्रपा लुम्बिनी प्रदेशले आज एक विज्ञप्ति जारी गर्दै रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा उक्त घटना भएको जनाएको छ। शालिकमाथि उभिने, चढ्ने र टेक्ने जस्ता अशोभनीय क्रियाकलाप नेपाली जनभावना र इतिहासप्रति गम्भीर अपमान भएको राप्रपाको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, इतिहास र सर्वप्रिय व्यक्तित्वप्रति सम्मान राख्नु हरेक जनता र राजनीतिक दलको नैतिक दायित्व हो। यस्ता गैरजिम्मेवार गतिविधिले समाजमा गलत सन्देश जाने भएकाले यसलाई सामान्य घटनाको रूपमा लिन मिल्दैन।”
राप्रपाले रास्ववामाथि तीनवटा कडा माग राखेको छ :
१. उक्त घटनाप्रति रास्वपाले तत्काल आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने,
२. नेपाली जनता र इतिहासप्रति भएको अपमानको लागि औपचारिक माफी तथा क्षमायाचना गर्नुपर्ने,
३. यस किसिमको अभद्र कार्यमा संलग्न कार्यकर्तालाई कडा अनुशासनात्मक कारबाही गर्नुपर्ने।
राप्रपाले रास्वपाको यस्तो हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउन पनि माग गरेको छ।





