एमाले झन्डा जलाएको प्रतिशोध : रास्वपा कार्यालयमा तोडफोडको प्रयास

दाङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ तोडफोडको प्रयास भएको छ। करिब ६ बजेतिर युवा संघ र एमालेका नारा लगाउँदै आएका केही युवाहरूले कार्यालय बाहिर राखिएका पोस्टर स्ट्यान्ड तोडफोड गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले इलाका प्रहरी कार्यालयको सक्रियताका कारण ठूलो तोडफोड हुनबाट जोगिएको बताए। उनले भने, ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ, प्रहरीले रोकेपछि अवस्था नियन्त्रणमा आयो।’

यो घटना बिहीबार राति रास्वपा सभापति रवि लामिछाने सुर्खेतबाट घोराही आउने क्रममा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै भएको हो। सोही विषयलाई लिएर उत्पन्न विवादकै कारण एमाले कार्यकर्ताले प्रतिशोधस्वरूप तोडफोड गरेको हुन सक्ने आशंका गरिएको छ।

इलाका प्रहरी कार्यालयका डीएसपी होमबहादुर पराजुलीले भने, ‘हामीले समयमै पुगेर ठूलो तोडफोड हुन दिएनौं। तर कसले गरेको भनेर खुलेको छैन। एमाले कार्यालय नजिकै भएकाले युवा संघले गरेको हुन सक्ने अनुमान छ।’

यसैबीच, प्रहरीले एमालेको झन्डा जलाउने आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। अब यो दोहोरो घटनाले दाङको राजनीतिक वातावरण तनावग्रस्त बन्ने संकेत देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button