चुनावी प्रक्रियाबाट अलगिँदै त्रिमूल नेपाल, विदेशी चलखेल र अस्वाभाविक गतिविधिप्रति गम्भीर चिन्ता

काठमाडौं — त्रिमूल नेपालले वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै आफू चुनावी प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ। पार्टीका अनुसार देशभित्र बढ्दो विदेशी प्रभाव, अस्वाभाविक कूटनीतिक गतिविधि र सम्भावित अस्थिरताको संकेतलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो।
पार्टीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ कि नेपालमा देखापरेका दुई धारबीच स्पष्ट कित्ताकाट गर्दै चुनावमा जाने निर्णय पहिले गरिए पनि पछिल्ला घटनाक्रमले परिस्थिति जटिल बनेको निष्कर्ष निकालिएको छ। चुनावी घोषणा भएलगत्तै विभिन्न विदेशी गुप्तचर निकायहरूको गतिविधि अस्वाभाविक रूपमा बढेको दाबी गरिएको छ। वक्तव्यमा बेलायतको गुप्तचर संस्था MI6, अमेरिकाको CIA र भारतको RAW का प्रतिनिधिहरू काठमाडौंमा सक्रिय देखिएको उल्लेख गरिएको छ।
पार्टीका अनुसार राजधानी काठमाडौंमा विदेशी प्रतिनिधिहरूको बाक्लो उपस्थिति र सुरक्षा निकायसँगको अस्वाभाविक सम्पर्कले स्वाधीनता र निष्पक्ष चुनावी वातावरणमाथि प्रश्न उठाएको छ।
वक्तव्यमा हालै बंगलादेशमा सत्ता परिवर्तनपछि पूर्वप्रधानमन्त्री मोहम्मद युनुसले नेपालको उप–प्रधानमन्त्रीसँग गरेको भेटवार्ता र भारतका सात पूर्वोत्तर राज्य, बंगलादेश, नेपाल र भुटानलाई समेटेर साझा क्षेत्रीय अवधारणा अघि सारिएको विषयप्रति पनि चासो व्यक्त गरिएको छ। पार्टीले यसलाई भू–राजनीतिक पुनर्संरचनाको संकेतका रूपमा व्याख्या गरेको छ।
त्यस्तै, चुनावी वातावरणमा कुनै अप्रिय वा हिंसात्मक घटना घटाउन सकिने सम्भावनाप्रति पनि संकेत गरिएको छ। वक्तव्यमा छिमेकी देश भारत र अन्य शक्तिराष्ट्रहरूको रणनीतिक चासोले नेपालमा अस्थिरता निम्त्याउन सक्ने आशंका व्यक्त गरिएको छ।
त्रिमूल नेपालले आफ्नो निर्णयलाई “राष्ट्रहित र नागरिक सुरक्षाको पक्षमा सावधानीपूर्ण कदम” को संज्ञा दिएको छ। पार्टी अध्यक्ष भरत दाहालद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “देशलाई अस्थिरता र बाह्य हस्तक्षेपको प्रयोगशाला बन्न नदिन हामी चुनावी प्रतिस्पर्धाबाट अलग भएका हौँ। आम नागरिकलाई सचेत र सजग रहन आग्रह गर्दछौँ।”
पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनसरोकारका विषयमा वैकल्पिक कार्यक्रम मार्फत जनतामाझ जाने पनि जनाएको छ। साथै, कसैलाई मत दिन वा कुनै दललाई समर्थन गर्ने नीति नरहेको स्पष्ट पार्दै वर्तमान परिस्थितिमा राष्ट्रिय एकता र सजग नागरिक भूमिकाको आवश्यकता औँल्याएको छ।
यस निर्णयले समग्र चुनावी वातावरणमा नयाँ बहस सिर्जना गरेको छ। विदेशी प्रभाव, कूटनीतिक सक्रियता र आन्तरिक राजनीतिक ध्रुवीकरणबीच त्रिमूल नेपालको बहिर्गमनले आगामी राजनीतिक दिशाबारे थप प्रश्न खडा गरेको विश्लेषकहरूको मत छ।





