रौतहटको आगो : जन्तीको बाजाले बल्छियो गौर, कर्फ्युको घेरामा सदरमुकाम

राैतहट / रौतहटको सदरमुकाम गौर नगरपालिका-६ स्थित सवगढामा शनिबार दुई पक्षबीच भएको झडपले तनावको ज्वाला थप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। अवस्था हातबाट बाहिरिन लागेपछि प्रशासनले कडा कदम चालेको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बढ्दो आक्रोश र झडपले गम्भीर रूप लिएपछि कर्फ्यु लगाउनु परेको बताए। ‘हामी अवस्था नबिग्रियोस् भनेर कर्फ्यु लगाएका छौं,’ उनले भने, ‘अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’ प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध र उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ।

शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगामुढा सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हो। झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ।

 

झडपको सुरुवात र विस्तार

बिहीबार राति सवगढामा एक जन्ती मस्जिद नजिक पुग्दा दुई समुदायबीच विवाद उत्पन्न भई ढुंगा हानाहान भएको थियो। रातमा मस्जिदमा नमाज पढिरहेको समयमा जन्तीको बाजाले विवादको जन्म दिएको बताइन्छ। त्यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका थिए। घाइतेहरूलाई प्रादेशिक अस्पताल गौरमा उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान पुनः यही विषयलाई लिएर झडप सुरु भयो। करिब ४/५ सयको संख्यामा भेला भएका दुवै पक्षबीच ढुंगामुढा र झडप भएपछि प्रहरीले १२ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गर्न बाध्य भएको थियो। यस झडपमा दुई प्रहरी कर्मचारी र छ जना स्थानीय घाइते भएको प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रसाद बस्नालले जानकारी दिए।

सहमति र त्यसको उल्लंघन

शुक्रबार साँझ प्रजिअ भुसालको पहलमा दुवै पक्षबीच वार्ता गराई ६ बुँदे सहमति भएको थियो। वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने, अफवाह नफैलाउने, र आसन्न फागुन २१ गतेको निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको थियो।

तर, शनिबार बिहान करिब ९ बजे पुनः ढुंगामुढा सुरु भएपछि सहमति ध्वस्त भएको छ। केही समयअघिको झडपको क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो। अर्को समाचारमा तीन सवारीसाधन र दुई मोटरसाइकलमा आगजनी भएको र पेट्रोल पम्पसमेत तोडफोड गरिएको उल्लेख छ।

घटनास्थलमा नेपाल प्रहरी एसपी सीताराम रिजाल र सशस्त्र प्रहरी एसपी रामहरि अधिकारीको कमान्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले अवस्था सामान्य नभएसम्म कर्फ्यु जारी रहने र कसैलाई पनि आचारसंहिता उल्लंघन गर्न नदिइने चेतावनी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button