छोङछिङको होङयातोङ : बसन्त महोत्सवमा व्यवस्थित पर्यटन र सुरक्षाको सुन्दर नमुना

# पासाङ ल्हामु
चीनको केन्द्रीय सरकारद्वारा प्रत्यक्ष शासित चार महानगर मध्ये एक हो, छोङछिङ। पश्चिमी चीनको विकासको प्रवेशद्वारका रूपमा परिचित यो सहर आर्थिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त समृद्ध छ। चिनियाँ वसन्त महोत्सव (नयाँ वर्ष) को बिदाको समयमा, छोङछिङ शहरको युचोङ क्षेत्रमा रहेको प्रसिद्ध होङयातोङ दृश्यावलोकन स्थल पर्यटकहरूले भरिएको छ। यस अवधिमा पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको अवलोकन अनुभवलाई सहज एवं स्मरणीय बनाउन स्थानीय प्रशासनले अस्थायी यातायात नियन्त्रणको प्रभावकारी व्यवस्था गरेको छ। होङयातोङको अगाडिको मुख्य सडक बन्द गरिएको छ भने सामाजिक सवारी साधनहरूको आवागमनलाई अस्थायी रूपमा रोकिएको छ, जसले गर्दा पर्यटकहरूले निर्धक्क, सुरक्षित र सरल तरिकाले यस अद्भुत स्थलको सौन्दर्य अवलोकन गर्न पाएका छन्।

छोङछिङ चीनको पश्चिमी भागमा अवस्थित एक विशाल नगर हो। यसको क्षेत्रफल करिब ८२,४०० वर्ग किलोमिटर रहेको छ। यहाँको स्थायी जनसंख्या ३ करोड १९ लाख भन्दा बढी रहेको छ, जुन नेपालको क्षेत्रफल भन्दा पनि धेरै हो। जसले यसलाई जनसंख्याको आधारमा विश्वकै सबैभन्दा ठूलो महानगरको मान्यता दिएको छ। यो सहर ‘पहाडी सहर’ (माउन्टेन सिटी) को नामले समेत प्रसिद्ध छ, किनकि यहाँको धरातलीय बनोटमा पहाड, डाँडाकाँडा र बेसीहरूको बाहुल्यता रहेको छ । याङ्त्से नदी (चीनकै सबैभन्दा लामो नदी) र जियालिङ नदीको संगममा अवस्थित यो सहर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। आर्थिक रूपमा पनि छोङछिङ निकै बलियो मानिन्छ; यसको कूल गार्हस्थ उत्पादन (जीडीपी) मलेसिया जत्तिकै रहेको छ र यो बेइजिङ, साङ्घाई, सेन्जेनपछि चीनको चौथो ठूलो अर्थतन्त्र हो। यसलाई ‘चीनको चौथो आर्थिक ध्रुव’ को रूपमा समेत हेरिन्छ।

होङयातोङ (Hongyadong) छोङछिङकै एक प्रमुख सांस्कृतिक एवं पर्यटकीय आकर्षण हो। युचोङ जिल्लामा जियालिङ नदीको किनारमा अवस्थित यो अद्भुत संरचना वास्तवमा ११ तले भवन परिसर हो, जुन परम्परागत चिनियाँ ‘दियाओजियाओलोउ’ (खम्बामाथि बनेको घर) शैलीमा निर्माण गरिएको छ । यसले आधुनिक सहरको बीचमा पुरातन चिनियाँ वास्तुकलाको जीवन्त झल्को दिन्छ। विशेषगरी रातको समयमा यो परिसर रातो र सुनौलो बत्तीले झिलिमिली हुँदा यसको सौन्दर्य यति बढ्छ कि हेर्ने जो कोही पनि मन्त्रमुग्ध भइहाल्छ। यति मात्र होइन, होङयातोङभित्र परम्परागत चिनियाँ खाजा, चियाघर, सांस्कृतिक प्रदर्शनी र हस्तकलाका पसलहरू रहेका छन्। चिनियाँ नयाँ वर्ष (बसन्त महोत्सव) को अवसरमा यहाँ पर्यटकको संख्या अत्यधिक बढ्ने गर्छ।

चीनको बसन्त महोत्सव (२०२६ फेब्रुअरी १७) को अवधिमा यात्रुहरूको आवागमन चरम सीमामा पुग्छ। यस वर्ष महोत्सवको बिदा ९ दिनको रहेको छ, जसमा ‘पहिले घर फर्कने, अनि मात्र यात्रा गर्ने’ प्रवृत्ति देखिएको थियो। छोङछिङजस्तो लोकप्रिय पर्यटकीय सहरमा त यो समयमा झन धेरै भीड हुने गर्छ। होङयातोङ, जिफेङपेइ, सिकिचोउ जस्ता ठाउँहरूमा पर्यटकहरूको अत्यधिक चाप हुने भएकाले स्थानीय प्रशासनले पूर्वतयारी गरेको थियो।
यसै सन्दर्भमा, पर्यटकहरूको सुरक्षा र सहजताका लागि होङयातोङ अगाडिको सडक बन्द गरी अस्थायी यातायात नियन्त्रण लागू गरिएको हो। यो कदमले पैदल यात्रीहरूलाई प्राथमिकता दिने र सवारी साधनको चापले हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्य राखेको थियो। सामाजिक सवारी साधनको आवागमन अस्थायी रूपमा रोक्दा पर्यटकले स्वतन्त्र र स्वच्छन्द घुम्न, तस्बिर खिच्न र दृश्यको आनन्द लिन पाएका छन्। यस किसिमको व्यवस्थापनले स्थानीय प्रशासन पर्यटकमैत्री र सुरक्षाप्रति सचेत रहेको देखाउँछ। यातायात तथा सुरक्षा निकायहरूले आवश्यकता अनुसार थप बस तथा सवारी साधनको व्यवस्था गरी पर्यटकलाई गन्तव्यसम्म पुर्याउन सहयोग गरेको बताइन्छ।

छोङछिङजस्तो विशाल, व्यस्त र भव्य सहरले आफ्ना पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्धन र सुरक्षाका लागि गरेको यो व्यवस्थापन नेपालका लागि समेत एउटा उदाहरण बन्न सक्छ। नेपाल पनि पर्यटकीय दृष्टिले सम्पन्न देश हो। यहाँ पनि विभिन्न चाडपर्व, मेला तथा पर्यटकीय सिजनमा भीडभाड बढ्ने गर्छ। त्यस्तो बेला स्थानीय प्रशासनले पर्यटकको सुरक्षा, सवारी व्यवस्थापन र पूर्वाधारको सही प्रयोग गर्न सक्यो भने मात्र पर्यटनले दीर्घकालीन फाइदा पुर्याउन सक्छ। छोङछिङको होङयातोङको यो अनुभवले सुरक्षित र व्यवस्थित पर्यटन व्यवस्थापनको महत्त्वलाई उजागर गर्दछ।
बसन्त महोत्सवको अवधिमा छोङछिङको होङयातोङमा पर्यटकको अत्यधिक भीड हुँदा पनि स्थानीय प्रशासनले गरेको अस्थायी यातायात नियन्त्रण र सुरक्षा व्यवस्था अत्यन्त प्रभावकारी देखिएको छ। यसले पर्यटकलाई सुरक्षित मात्र राखेन, उनीहरूको अवलोकन अनुभवलाई अझ रमाइलो बनाएको छ। यस प्रकारको व्यवस्थापनले छोङछिङलाई ‘चीनको चौथो आर्थिक ध्रुव’ मात्र होइन, ‘जनताको सुरक्षाप्रति समर्पित सहर’ का रूपमा समेत चिनाएको छ। नेपाली पर्यटकले समेत यस्ता अनुभवबाट प्रेरणा लिई आफ्नो देशको पर्यटन प्रवर्धन र सुरक्षित यात्रा व्यवस्थापनमा योगदान पुर्याउन सक्छन्।





