चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि रास्वपा चुनाव भाँड्न खोज्दैछ: एमाले

काठमाडौं, ९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि चुनाव भाँड्न खोजेको गम्भीर आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकभर शान्ति सुरक्षाको अवस्था कमजोर रहेको र केही दलले चुनावी परिणाम आफू अनुकूल नआउने देखेपछि अशान्ति फैलाउने षड्यन्त्र गरिरहेको उल्लेख छ।
एमालेले आफ्नो आस्थाको केन्द्र ‘सूर्य’ चुनाव चिन्ह अंकित झण्डा जलाउने, नेतृत्वप्रति घृणा फैलाउने जस्ता गतिविधि रास्वपाको उक्साहटमा भएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि रास्वपा चुनाव भाँड्न खोज्दैछ। देशका विभिन्न जिल्लामा दलहरूको झण्डा र चुनाव चिन्ह जलाउने अभियान चलाई अशान्ति फैल्याउने काम भइरहेको छ।”

यस्तै, निर्वाचन आचारसंहिता व्यापक रूपमा उल्लङ्घन भएको भन्दै एमालेले निर्वाचन आयोगको उदासीनता औंल्याएको छ। होली पर्वको अवसर पारी अमुक पार्टी र नेतृत्वको तस्विर अंकित टिसर्ट वितरण गरिनुलाई आचारसंहिता उल्लङ्घनको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। “निर्वाचन आयोगको शैली र उदासीनताप्रति हाम्रो गम्भीर आशंका छ,” विज्ञप्तिमा उल्लेख छ।
एमालेले सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ, “देशमा शान्ति सुरक्षा र अमनचयन कायम हुन नसकेका कारण चुनाव भयरहित हुनेमा एमाले आफैं विश्वस्त हुन सकेको छैन।” उसले चुनावका लागि सहज वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ। रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू जारी रहेको र यस्ता घटनाले मतदातामा त्रास सृजना गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘देश बनाउने र जलाउने’बीचको जनमत सङ्घर्षका रूपमा फागुन २१ को चुनावलाई व्याख्या गर्दै एमालेले आफू जस्तोसुकै कठिनाइमा पनि धैर्य र संयमताका साथ जनताको घरदैलोमा पुगेको दाबी गरेको छ। पार्टीले निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जवाफदेही बनाउन माग गरेको छ।





