पुटिनद्वारा सेना र जनतालाई एकताको सन्देश : ‘पितृभूमिको रक्षक दिवस’ मा सम्बोधन

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘पितृभूमिको रक्षक दिवस’ का अवसरमा आइतबार सम्पूर्ण रुसी नागरिक, दिग्गज सैनिक तथा सशस्त्र बलका सदस्यहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
फेब्रुअरी २३ तारिखलाई रुसमा दशकौंदेखि राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको छ। राष्ट्रपति पुटिनले यस दिवसलाई जनताको रक्षाप्रतिको सच्चा प्रेम, सेना र नौसेनाप्रतिको गौरव तथा पितृभूमिको सेवामा समर्पित व्यक्तित्वहरूप्रतिको सम्मानको प्रतीकका रूपमा चित्रण गरे।
सन् २०२६ लाई रुसले ‘रुसी जनताको एकता वर्ष’ का रूपमा मनाइरहेको छ। यसै सन्दर्भमा राष्ट्रपति पुटिनले इतिहासभरि विभिन्न जातीय तथा धार्मिक समुदायका मानिसहरू देशको रक्षाका लागि एकजुट भएको स्मरण गराए। उनले भने, “देशभक्तिको भावना र मातृभूमिप्रतिको जिम्मेवारीले उनीहरूलाई एकताबद्ध गरेको थियो र महान अमर विजयका लागि प्रेरित गरेको थियो।”
रुसी सेनाको वर्तमान पुस्ताले पूर्खाबाट प्राप्त वीरता र सम्मानको परम्परालाई गौरवपूर्वक अगाडि बढाइरहेको उल्लेख गर्दै पुटिनले विशेष सैन्य अभियानका क्रममा सबै जातीय समुदायका प्रतिनिधिहरू काँधमा काँध मिलाएर रुसको हितको रक्षामा खटिरहेको बताए।
राष्ट्रपति पुटिनले रुसको सुरक्षाको ग्यारेन्टी गर्ने र विश्वमा रणनीतिक सन्तुलन कायम राख्ने आणविक त्रयी (न्युक्लियर ट्रायड) को विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै, विशेष सैन्य अभियानको युद्ध अनुभवको आधारमा तथा हाम्रो उद्योग, विज्ञान र प्रविधि कम्पनीहरूको क्षमतालाई भरपर्दो रूपमा प्रयोग गर्दै हामी सेना र नौसेनालाई सुदृढ गर्ने ठूलो कार्य जारी राख्नेछौं।”
सबै सैन्यकर्मीको वीरतापूर्ण सेवाको प्रशंसा गर्दै उनले रुसी जनता उनीहरूको साथमा रहेको र उनीहरूमाथि विश्वास गरेको बताए। “खुसीको पर्व !” भन्दै उनले शुभकामना समापन गरे।





