२७ चैत्र २०८२, शुक्रबार

‘ग्रेटर होइन, मौलिक नेपाल खोजेका हौं’, सुगौली सन्धिपूर्वको इतिहासदेखि वर्तमान सीमा सङ्कटसम्मको विश्लेषण

लेखक: मदन रेग्मी,
अध्यक्ष, चीन अध्ययन केन्द्र

टुक्रा टुक्रा भएको नेपाललाई एकीकरण गर्ने दिशामा अग्रसर भएर आधुनिक नेपालको निर्माण कार्यको सूत्रधार र साम्राज्यवादी शक्तिसँग लड्न नेपालीलाई प्रेरित गरी विजय बनाउन सफल बडामहाराज पृथ्वीनारायण शाहको शालिकमा गृहमन्त्री सुदन गुरुङले माल्यार्पण गरेको समाचार पढ्दा धेरै खुसी लाग्यो र यस्ता कार्यले नेपालको मासिन लागेको सार्वभौमसत्तालाई जोगाउन आम जनतालाई अवश्य नै अभिप्रेरित गर्नेछ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाललाई पुनः एकीकरण गर्ने अभियानलाई उनका कान्छा छोराले नेपालको सिमानालाई गङ्गा नदी र गोमतीको तीरसम्म पुर्याएर ठूलो योगदान गरेका थिए। यसभन्दा अगाडि दैलेखका दुल्लुबाट आएका मल्ल वंशका योद्धा शासकहरूले हाल भारत अधीनस्थ प्रयागराजसम्म नेपालको सिमाना पुर्याएर त्यहाँ शिलालेख स्तम्भ गाडेका थिए, जो आजसम्म कायमै रहेको हुनुपर्छ। यद्यपि भारतीय इतिहासकारहरूले यी मल्लहरू नेपालका मल्लहरू होइनन् भनेर भन्न छोडेका छैनन्। नेपालका राजा महेन्द्र मल्लले गङ्गाको तीर चिसुवान घाट नजिकै मउहेदार गाउँ निर महेन्द्रनाथको विशाल मन्दिर निर्माण गरेका र २० एकड जमिनमा तलाउ बनाएको आज पनि भारतीय अधीनस्थ भूमिमा विद्यमान छ।

मल्लकालअघि विशाल नेपालको एकीकरण किरात वंशका यलम्बरलगायतका राजाहरूले गरेका हुन्। लिच्छविकालमा दक्षिण एसियामा मगधसरहको राज्य नेपाल साम्राज्य थियो र दुई देशको बीच व्यापार हुन्थ्यो। सातौं शताब्दीको अंशुवर्माको शासनकालमा नेपालको वैभवता र विशालता देखेका चिनियाँ यात्रीहरूले काठमाडौं उपत्यकास्थित कैलाशकुट भवनको दरबारका खम्बाहरूमा जवाहरातहरू जडिएको उल्लेख गरेका छन्। नेपालका मिथिला वंशीय राज्यहरूको सिमाना कर्नाटकसम्म रहेको इतिहासमा लेखिएको छ। ती नेपाल अधीनस्थ कर्नाटकका मानिसहरू कन्नड भाषा बोल्थे। मिथिला त नेपालको प्रमुख भाषामध्येकै एक भाषा हो। पशुपतिनाथका भट्टहरू कर्नाटक नेपालको अधीनमा भएको समयदेखि आएको हुनुपर्छ। यी भट्ट ब्राह्मणहरू नेपालबाहिरबाट आएका होइनन्, नेपालभित्रैबाट आएका हुन्।

चल्ल राजाहरूको कालमा ताक्लाकोटलगायत मानसरोवरसम्म नेपालको सिमाना फैलिएको उल्लेख गरिएको छ। सातौं शताब्दीको सुरुआतका वर्षहरूमा कान्यकुब्ज राज्यमा चीनको बादशाहको दूत भएर पुगेका चिनियाँ सेनाका उच्च र कार्यकारी अधिकारीहरूलाई त्यहाँको खराब नियत भएको राजाले पक्राउ गरेर थुनेपछि, चीनको आग्रहमा तिब्बतका राजा स्रोङचङ गम्पोले १५०० सेना र नेपालको तर्फबाट ७००० घोडचढी सेनाले कान्यकुब्ज राज्यमाथि हमला गरेर त्यहाँको राजालाई सत्ताच्युत गरी चिनियाँ अधिकारीहरूलाई रिहा गरी चिनियाँ राजालाई सुपुर्द गरेको बेला नेपाल अत्यन्त शक्तिशाली राष्ट्र थियो भन्ने बुझिन्छ।

सन् १८१४ देखि १८१६ सम्म अर्थात् सुगौली सन्धिअघिसम्म नेपालको सिमाना दक्षिणमा गङ्गा र गोमती नदीको तीरसम्म, पश्चिममा सतलज नदीसम्म जोडिएको काङ्ग्रासम्म थियो। पूर्वमा टिस्टा नदीसम्म थियो। सुगौली सन्धिपछि नेपालले मानिसहरू बसोबास गरिरहेका ८० हजार वर्ग किलोमिटर जमिन अङ्ग्रेजलाई दिनुपर्यो। हामीले सुगौली सन्धिपूर्वको भूभागलाई नेपालको मौलिक भूभाग भएको हुँदा त्यस जमिनमा हाम्रो पूर्ण अधिकार छ। हामीले मौलिक नेपाल खोजेका हौं, ग्रेटर नेपाल खोजेका होइनौं। यसबाहेक हामीले एक इन्च भूमि पनि दाबी गरेका छैनौं। यो भूमिमाथिको हाम्रो अधिकारलाई बेलायतसँग नेपालले गरेको सन् १९५० को सन्धिले पनि प्रस्ट हुन्छ। Treaty between the Government of the United Kingdom and Government of Nepal signed at Kathmandu on 30th October 1950 को तेस्रो अनुच्छेदमा भनिएको छ: “Considering that in consequence of the establishment of the two independent states of India and Pakistan certain of the provisions of the Treaty signed at Kathmandu on 21st December 1923 and prior treaties are no longer applicable between the Governments of the United Kingdom and Nepal.” यो सन्धिपत्रले पनि सुगौली सन्धि खारेज भएको र अङ्ग्रेजले कब्जा गरेको नेपालको विशाल भूमिमाथि हाम्रो अधिकार कायम रहन्छ भन्ने पुष्टि गर्छ।

हामीले आफ्नो अधिकार मागेको सुगौली सन्धिपूर्वको अवस्थाको नेपालको भूमि हो। अखण्ड भारत (Greater India) को दाबी साम्राज्यवादी हो र उसको अखण्ड भारतको दाबी अनुसार त नेपाल, भुटान, तिब्बत, बङ्गलादेश, श्रीलङ्का र म्यानमार आदि सबै भारतको अधीनमा पर्छन्। हाल भारतले संसद्मा टाँगेको नक्सामा अहिलेको विद्यमान नेपालको हिमालय, लुम्बिनीलगायतको ठूलो भूभाग भारतीय भूभागअन्तर्गत राखिएको छ। यसरी अर्काको भूमि आफ्नो नक्सामा राख्दा पनि नेपालको कुनै पनि सरकारले औपचारिक रूपमा विरोध गरेको छैन।

हाल विद्यमान नेपाललाई मास्ने दुई ठूला घात भएका छन्। सुगौली सन्धिमा नेपाल र बेलायतबीच सिमाना छुट्याउने जङ्गे पिलरलाई हटाएर नेपालको भित्रसम्म नदीहरूलाई पनि भारतमा पार्ने गरी साना साना स्तम्भ गाडिएका छन्। यो राष्ट्रद्रोह गर्नुभन्दा अगाडि नेपालका दुई जना नापीका महानिर्देशकले भारतका नापीका अधिकारीसँग सम्झौता गरेका थिए। यस्तो सम्झौता गर्न नापीका महानिर्देशकहरूले कहाँबाट अधिकार पाए? यस सम्बन्धमा छानबिन गरी कडाभन्दा कडा सजाय दिनुपर्ने थियो। दोस्रो जघन्य अपराध यी दलहरूले करोडौं बिहारी र उत्तर प्रदेशका भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको छ। नेपालको सीमा पनि खुम्च्याउने, नदीहरूमाथि भारतको अधिकार कायम गराउने र लादेको खुला सीमानालाई कायम राखेर सुचारु गर्दै लैजाने तथा राहदानी प्रथा प्रचलनमा रहेकोमा परापूर्वकालदेखि सीमाना खुला रहेको लेख्ने दलालहरूलाई गणतन्त्रका सरकारहरूले सल्लाहकार राखेका थिए। जबकि नेपाल-भारतबीचको सीमाना नियमित गर्न सर्वोच्च अदालतबाट १२ वैशाख २०७८ मा परमादेश जारी भइसकेको छ। यसलाई यो जनताको व्यापक समर्थन भएको सरकारले हिजोको सरकारभन्दा भिन्न देखाउने हो भने सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्छ।

सन् २०१६ सालसम्म पनि नेपाल आउन भारतीय सेनाका जनरल अशोक मेहताले कलकत्ताको नेपाली महावाणिज्य दूतावासमा गएर अनुमति लिएर नेपाल प्रवेश गरेको कुरा नयाँ पत्रिकामा प्रकाशित पर्शुराम काफ्लेलाई दिएको अन्तर्वार्तामा भनेका छन्। यद्यपि विदेशीलाई नागरिकता बाँड्ने काम र सीमाना खुला गर्ने काम त्यस अवधिको लगभग तीन वर्षपछि सुरु भएको हो। देशको सार्वभौमसत्ता, स्वतन्त्रता र प्रादेशिक अखण्डता जोगाउन सीमा नियमित गर्ने, असमान सन्धिहरू खारेज गर्ने, विदेशीलाई दिइएको नागरिकता खारेज गर्ने काम नयाँ सरकारले गर्न सक्नुपर्यो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button