चीनको ‘छुनयुन’ यात्रा: २० दिनमै ५ अर्ब ८ करोड यात्रुले गरे घर फिर्ती, विश्वकै सबैभन्दा ठूलो मानव प्रवासन

बेइजिङ, (चीन) : चीनको वार्षिक ‘वसन्त यात्रा’ (स्प्रिङ फेस्टिबल ट्राभल रस) आधा समय पार गर्दा मात्रै पनि ५ अर्बभन्दा बढी मानिसले यात्रा गरिसकेका छन्। परिवहन मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार, गत २० दिनमा ५ अर्ब ८ करोड अन्तर–क्षेत्रीय यात्रु यात्रा भएको छ।
यो विशाल संख्यामा सबैभन्दा धेरै ४ अर्ब ७६ करोड यात्रुले सडकमार्ग प्रयोग गरेका छन्। रेलमार्ग हुँदै २५ करोड ८० लाख यात्रुले यात्रा पूरा गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै, जलमार्गबाट १ करोड ९९ लाख ९० हजार र हवाई मार्गबाट ४ करोड ७५ लाख २० हजार यात्रुले गन्तव्यमा पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा हुने यो वार्षिक यात्रालाई ‘छुनयुन’ नामले चिनिन्छ, जसलाई प्रायः विश्वको सबैभन्दा ठूलो मानव प्रवासनको संज्ञा दिइन्छ। यस वर्षको छुनयुन फेब्रुअरी २ देखि मार्च १३ सम्म ४० दिन चल्नेछ। प्रारम्भिक अनुमान अनुसार, यो ४०–दिने अवधिभर कुल ९ अर्ब ५० करोड अन्तर–क्षेत्रीय यात्रा हुने प्रक्षेपण गरिएको छ।
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा परिवारसँग नयाँ वर्ष मनाउन घर फर्कनेहरूको यो भीडले चीनको यातायात प्रणालीको विशालता र व्यवस्थापन क्षमतालाई उजागर गर्दछ।





