खजुरामा पहिलोपटक गोल्डकप : सात लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता चैत ३० बाट सुरु, नाइजेरियादेखि भारतसम्मका टोली सहभागी

बाँके । बाँकेको खजुरामा पहिलोपटक खजुरा गोल्डकप आयोजना हुँदैछ। लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको खजुरा डि गाउँस्थित मिनी रङ्गशालामा आयोजना हुन लागेको प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रतियोगितामा गोरखा ब्वाईज स्पोर्टस क्लब बुटवल, संकटा स्पोर्टस क्लब काठमाडौँ, एपिएफ काठमाडौँ, चर्च ब्वाईज क्लब काठमाडौँ, काँक्रेविहार क्लब सुर्खेत, नाइजेरियन जोन क्लब नाइजेरिया, लखनउ साहारा क्लब भारत र आयोजक न्यु डाँफे स्पोर्टस क्लब खजुरा गरी आठ टोलीको सहभागिता रहेको छ। चैत ३० गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते हुनेछ। क्लबका अध्यक्ष खत्रीले गोल्डकप सम्पन्न गर्न करिब ७३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरेका छन्।

प्रतियोगितालाई खजुरा गाउँपालिकाले १७ लाख रुपैयाँ सहयोग गरेको छ। अमेरिका बस्दै आएका खजुरा डी गाउँका स्थानीय समाजसेवी लिलबहादुर थापाले प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफ सीका सञ्चालक अंकित थापाले ७ लाख उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए। बाँकी रकम आयोजकको आन्तरिक स्रोतबाट जुटाइने छ। गोल्डकपमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

क्लबका अध्यक्ष खत्रीले भने, ‘खजुरा गोल्डकपका लागि यहाँका स्थानीय अगुवाहरूको साथ र समर्थनले हौसला प्रदान गरेको छ। यसबाट गाउँमा पनि भव्य प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिनेछौं।’ उनले बाँकेको इतिहासमा पहिलोपटक फुटबल प्रतियोगिताको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै गर्दा गजबहादुर सिंजालीको स्मरणमा आयोजना गर्न लागिएको प्रतियोगिता अवलोकन गर्न सम्पूर्ण खजुरावासीलाई आग्रह गरेका छन्।
नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले प्रथम खजुरा गोल्डकप २०८२ को गेट निर्माण गर्ने ब्रोदर्स एफसी परिवारलाई धन्यवाद दिँदै भने, ‘हाम्रो खजुरा, हाम्रो गौरव हो। खजुरालाई चिनाउने महत्त्वपूर्ण काममा तपाईंहरूको भूमिका निरन्तर रहनेछ। हाम्रो खजुरा, हाम्रो गाैरव हो। खजुरालाई चिनाउने महत्त्वपूर्ण काममा तपाईंहरूको भूमिका निरन्तर रहनेछ, विश्वास लिएको छु। न्यूँ डाँफे स्पाेर्ट्स क्लब पुरानो क्लब हो। यसको इतिहास खजुरासँगै जाेडिएकाे छ। यसले विगतमा खेलकुद र साँस्कृतिक क्षेत्रमा निर्वाह गरेको भूमिका स्मरणीय छ। खजुराका आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाइ र युवाहरूलाई प्रथम खजुरा गाेल्डकप २०८२ लाई भब्यताका साथ सफल बनाउन हार्दिक अनुरोध गर्दछु।’ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देशविदेशमा चिनाउन योगदान पुग्ने बताए। खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देशविदेशका खेलाडीहरूलाई बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए।
खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भूमिका रहने हुँदा गोल्डकपले फुटबल खेलको विकाससँगै युवामा खेलप्रति अभिरुचि जगाउने बताए। प्रतियोगिता खजुरा स्थित मिनी रङ्गशाला डि गाउँको फुटबल मैदानमा हुनेछ। खजुराले पहिलो पटक आयोजना गर्न लागेको प्रथम गोल्डकप फुटबल प्रतियोगितालाई सफल बनाउन सबै एकजुट हुनुपर्ने उपस्थितहरूले जोड दिएका छन्।





