८ बैशाख २०८३, मंगलवार

गोकर्णको गोलपोस्ट अभेद्य, योगिनीको सपना चकनाचुर : राइजिङ स्टार पेनाल्टीमा फाइनलमा, सितापुरसँग उपाधि भिडन्त पक्का

बाँके । राइजिङ स्टार क्लब बाँके जिल्लामा जारी दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा राइजिङ स्टारले आयोजक योगिनी युवा क्लब ‘ए’ लाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। अब आगामी चैत २९ गते आइतबार हुने फाइनलमा राइजिङ स्टारले सितापुर युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

शुक्रबारको रोमाञ्चक सेमिफाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टी सुटआउटमा राइजिङ स्टारका गोलरक्षक गोकर्ण पुनले अभेद्य प्रदर्शन गर्दै विपक्षीका दुई प्रहारलाई विफल बनाए। राइजिङ स्टारको तर्फबाट प्रख्यात परियार, क्षितिज रानामगर र समिर कसेराले गोल गर्दा योगिनी ‘ए’ को तर्फबाट निराजन जङ्ग शाहीले मात्र गोल गर्न सफल भए।

उत्कृष्ट प्रदर्शन गरेबापत राइजिङ स्टारका गोलरक्षक गोकर्ण पुन प्लेयर अफ द म्याच घोषित भए। उनलाई प्रतियोगिता आयोजनामा सहयोग गर्नुहुने पिमति राना क्षेत्री र नन्दबहादुर खत्रीले संयुक्त रूपमा ट्रफी प्रदान गरी पुरस्कृत गरे।

अब सबैको नजर चैत २९ गतेको फाइनल भिडन्तमा केन्द्रित भएको छ, जहाँ राइजिङ स्टार र सितापुर युनाइटेड बाँकेको योगिनी गोल्ड कपको उपाधि आफ्नो पोल्टामा पार्न मैदानमा उत्रिनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button