बंगलादेशको नेतृत्वमा ऐतिहासिक परिवर्तन : तारिक रहमान प्रधानमन्त्रीमा नियुक्त

ढाका, – बंगलादेशको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय थपिएको छ। राष्ट्रपति मोहम्मद शेहाबुद्दिन चुपले हिजो स्थानीय समय अनुसार अपराह्न ४ बजे आयोजित एक विशेष समारोहमा बंगलादेश राष्ट्रियतावादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानलाई देशको नयाँ प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको छ। यसै समारोहमा नयाँ मन्त्रिपरिषदका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि फेब्रुअरी १२ मा सम्पन्न तेह्रौं राष्ट्रिय संसदीय चुनावमा बीएनपीले ऐतिहासिक जित हासिल गरेको थियो। निर्वाचन आयोगले फेब्रुअरी १३ मा सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार, बीएनपीले २०९ सिटमा विजय हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ। यस शानदार विजयसँगै तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै देशको कार्यकारी नेतृत्व सम्हालेका हुन्।
तारिक रहमानको नेतृत्वमा गठित नयाँ सरकारले देशलाई समृद्धिको नयाँ यात्रामा अग्रसर गराउने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, बीएनपीको यो भारी मतले जनतामा परिवर्तनप्रति देखिएको व्यापक अपेक्षा र विश्वासलाई दर्शाउँछ।





