रणभूमिमा हार बेहोरेपछि शत्रुको आतंककारी रणनीति : पुटिन

मस्को, – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रणभूमिमा रणनीतिक पराजय दिन असफल भएपछि शत्रु पक्ष अहिले व्यक्तिगत तथा सामूहिक आतंकमा उत्रिएको आरोप लगाएका छन्। संघीय सुरक्षा सेवा (एफएसबी) को बोर्ड बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको र सुरक्षाकर्मीहरूले अधिकतम सतर्कता अपनाउनु पर्नेमा जोड दिए।
राष्ट्रपति पुटिनले शत्रु पक्षले सहरहरूमा गोला प्रहार, पूर्वाधारमा तोडफोड र सरकारी तथा सैन्य अधिकारीहरूको हत्या प्रयासलाई तीव्रता दिएको बताए। “उनीहरू कुनै पनि हदसम्म जान तयार छन्। मिडियामा उनीहरूले आणविक घटक समेत प्रयोग गर्ने इच्छा देखाएको समाचार आएको छ, जसको परिणाम के हुन सक्छ भन्ने उनीहरूले बुझेकै छन्,” उनले चेतावनी दिए।
यसैगरी, उनले कालो सागरको सतहमुनि रहेका रुसी ग्याँस पाइपलाइन ‘टर्किस स्ट्रिम’ र ‘ब्लू स्ट्रिम’ उडाउने षड्यन्त्रको पनि खुलासा गरे। “उनीहरू शान्त हुन सकिरहेका छैनन्। कूटनीतिक माध्यमबाट भएको सम्झौता प्रक्रियालाई असफल बनाउन उनीहरूले जे पनि गरिरहेका छन्,” उनले आरोप लगाए।
राष्ट्रपति पुटिनले सीमा सुरक्षा थप कडा बनाउन, पूर्वाधार बलियो बनाउन र सीमा अधिकारीहरूको युद्ध तत्परता तथा प्राविधिक क्षमता वृद्धि गर्न निर्देशन दिए। प्रतिवाद खुफिया एकाइहरूले विशेष सैन्य अभियान क्षेत्रको पछिल्लो भागमा काम तीव्र बनाउन, विदेशी गुप्तचर एजेन्सीहरूका कर्मचारी र उनीहरूद्वारा भर्ती गरिएका एजेन्टहरूको गतिविधि पत्ता लगाउनुपर्ने उनले बताए।
सूचना प्रविधिको क्षेत्रमा बढ्दो अपराध र विदेशी गुप्तचर एजेन्सीहरूद्वारा हुने साइबर आक्रमणको सन्दर्भमा उनले रुसको सूचना स्रोतहरूमा हुने कम्प्युटर आक्रमण पत्ता लगाउने, रोकथाम गर्ने र प्रभाव हटाउने राज्य प्रणालीलाई विकास र सुधार गर्न निर्देशन दिए।
अन्त्यमा, पितृभूमिका रक्षक दिवसको अवसरमा उनले एफएसबीका सबै कर्मचारीहरू, विशेष गरी सीमा सुरक्षा, विशेष बल र सैन्य प्रतिवादमा कार्यरत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने, “डोन्बास र नोभोरोसियामा रुसको सुरक्षा सुनिश्चित गर्न खटिएका सबै सञ्चालन कर्मचारीहरूको योगदान अतुलनीय छ।”





