इरानको दोहोरो रणनीति: वार्ताको हात बढाउँदै, रक्षा बलियो बनाउँदै

तेहरान: अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेका बेला इरानले भने वाशिङ्टनसँग आणविक सम्झौता गर्न आफू तयार रहेको सन्देश दिएको छ। मंगलबार इरानी शीर्ष अधिकारीहरूले यस विषयमा धारणा सार्वजनिक गरेका हुन्।

इरानका विदेशमन्त्री सैयद अब्बास अराक्चीले मंगलबार अमेरिकासँग ‘न्यायपूर्ण र उचित’ सम्झौता गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताए। सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, “दुवै पक्षसँग एक अभूतपूर्व सम्झौता गर्ने एतिहासिक अवसर छ।” उनका अनुसार त्यस्तो सम्झौताले दुवै पक्षका चासोलाई सम्बोधन गर्ने र साझा हित हासिल गर्न सकिने छ। यदि कूटनीतिलाई प्राथमिकता दिइयो भने सम्झौता नजिकै रहेको उनको भनाइ छ।

अराक्चीको यो टिप्पणी तेहरान र वाशिङ्टनबीच हुने तेस्रो चरणको अप्रत्यक्ष आणविक वार्ताअघि आएको हो, जुन बिहीबार जेनेभामा हुँदैछ। यसै महिनाको सुरुमा दुई चरणको अप्रत्यक्ष वार्ता भइसकेको छ, जसमा इरानको आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्ध हटाउने विषय केन्द्रमा थिए।

यसैबीच, इरानका परराष्ट्रमन्त्रीका लागि राजनीतिक मामिला हेर्ने उपमन्त्री मजिद तख्त रवान्चीले पनि अमेरिकासँग आणविक सम्झौता गर्न ‘जे आवश्यक छ’ त्यो गर्न तयार रहेको बताए। एनपीआर रेडियोसँगको अन्तर्वार्तामा उनले भने, “हामी सम्झौता गर्न जे आवश्यक छ त्यो गर्न चाहन्छौं। हामी पूर्ण इमानदारी र सद्भावनाका साथ जेनेभाको वार्ता कोठामा प्रवेश गर्नेछौं।” उनले आशा व्यक्त गर्दै भने, “हाम्रो सद्भावना र राम्रो दृष्टिकोणको अमेरिकी पक्षले प्रतिदान दिनेछन् भन्ने आशा गरेका छौं। यदि सबै पक्षमा राजनीतिक इच्छाशक्ति भए सम्झौता चाँडै हुन सक्छ।”

अर्कोतर्फ, सोही दिन तेहरानमा आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानसँगको भेटमा इरानी रक्षामन्त्री अजिज नासिरजादेहले आफ्नो देश आत्मरक्षाका लागि दृढ रहेको पुनः उल्लेख गरे। उनले भने, “इरान युद्धको खोजीमा छैन, तर यदि देशमाथि युद्ध थोपरियो भने, हामी बलियो रूपमा आत्मरक्षा गर्नेछौं र शत्रुलाई अविस्मरणीय पाठ सिकाउनेछौं।”

यो टिप्पणी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले इरानको दक्षिणी तटमा गरेको अभ्यासपछि आएको हो। अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सेनाले देशको तट र टापुहरूको ‘बलियो रक्षा’ गर्ने परिदृश्यमा अभ्यास गरेको थियो। आईआरजीसी ग्राउन्ड फोर्सेजका विशेष बलहरूले शत्रुलाई इरानको दक्षिणी तट नजिक आउनबाट रोक्न अभियान चलाएका थिए।

यो अभ्यास मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति निरन्तर बढिरहेको बेला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण सुरु गर्ने विचार गरिरहेको मिडिया रिपोर्टहरू पनि आएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार अमेरिकी एफ-२२ स्टिल्थ लडाकू विमानमध्ये ११ वटा दक्षिणी इजरायलको एक एयरबेसमा अवतरण गरेका छन्। यो इरानविरुद्ध वाशिङ्टनको क्षेत्रीय सैन्य सुदृढीकरणको एक हिस्सा हो।

विश्वको सबैभन्दा ठूलो विमानवाहक पोत यूएसएस गेराल्ड आर. फोर्ड पनि मध्यपूर्वतर्फ जाँदै भूमध्य सागरमा पुगेको छ। यो यूएसएस अब्राहम लिन्कन क्यारियर स्ट्राइक ग्रुप र इरान नजिकै तैनाथ अन्य गाइडेड-मिसाइल विध्वंसक पोतहरूमा सामेल हुनेछ।

ट्रम्पले सोमबार सञ्चारमाध्यमका ती रिपोर्टलाई खण्डन गरे जसमा संयुक्त चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले इरानमाथि आक्रमण गर्ने विरुद्ध चेतावनी दिएको दाबी गरिएको थियो। सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले भने, यदि इरानविरुद्ध सैन्य कारबाही गर्ने निर्णय भयो भने “उनको (केनको) रायमा यो सजिलै जितिनेछ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button