२९ चैत्र २०८२, आईतवार

खजुराको मैदानमा सात लाखको स्वर्णिम भिडन्त : उद्घाटन खेलमै गोर्खा ब्वाइज र संकटा आमनेसामने

– खगेन्द्र दाहाल

खजुरा (बाँके) । प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र संकटा स्पोर्ट्स क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ। न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा यही चैत ३० गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल सोही दिन अपराह्न हुने आयोजकले जनाएको छ।

प्रतियोगिता संयोजकका अनुसार बैशाख १ गते नयाँ वर्षका दिन कर्णाली प्रदेशको कांक्रेबिहार स्पोर्ट्स क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी, बैशाख २ गते आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लब र भारतको लखनउस्थित जेभिएम फुटबल एकेडेमी तथा बैशाख ३ गते सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लब र नाइजेरियन जोन क्लब नाइजेरियाबीच प्रतिस्पर्धा हुनेछ।

मुख्य प्रायोजन एमटी एरिनाले गरेको यस प्रतियोगिताका लागि खजुराको डिगाउँस्थित मिनी रंगशालालाई रंगरोगन गरी हजारौं दर्शकको उपस्थितिमा भव्य उद्घाटनको तयारी गरिएको आयोजक क्लबका अध्यक्ष बालाराम खत्रीले बताए। प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ७३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसैबीच, गोल्डकपका लागि खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिकामा बस्दै आएका स्थानीय लिलबहादुर थापाबाट प्रथम पुरस्कारबापत ७ लाख, मुख्य प्रायोजक तथा बाँकेका विभिन्न स्थानीय तहबाट सहयोग सुनिश्चित भइसकेको छ। पहिलो पटक आफ्नै ठाउँमा हुन लागेको गोल्डकपका लागि खजुरावासीले पनि स्वतःस्फूर्त रूपमा न्यूनतम पाँच हजारदेखि माथिको रकम सहयोग गरिरहेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए। आयोजकले प्रतियोगितालाई ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button