राजदरबार र दिल्लीको साइनो: चुनावी रणनीति वा राजनीतिक भूकम्प?

काठमाडौं / निर्वाचनको मुखैमा नेपालको राजनीति फेरि तरंगित भएको छ। राजा ज्ञानेन्द्र शाह सडकमा उत्रिने चर्चासँगै विभिन्न शक्तिराष्ट्रहरूको सक्रियता बढेपछि शंका-उपशंका पनि बढेका छन्। यसैबीच, चारजना पूर्व प्रधानसेनापति एक्कासि दिल्ली पुगेपछि राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ।

फागुन २१ गते हुने निर्वाचनको तयारी उत्कर्षमा पुग्दा नेपाली सेनाका पूर्वसेनापतिहरू पूर्णचन्द्र थापा, प्यारजंग थापा, राजेन्द्र क्षेत्री र गौरवशमशेर राणा बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। तीमध्ये राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा नेपाल एयरलाइन्सको उडानबाट दिउँसो दिल्ली गएका थिए भने प्यारजंग थापा र गौरवशमशेर राणा एयर इण्डियाको बिहानको उडानबाट गएको स्रोतले जनाएको छ। निर्वाचनको मुखैमा पूर्वसेनापतिहरूको यो दिल्ली भ्रमणले नेपालमा राजसंस्था पुनःस्थापनाको खेल सुरु भएको आकलन गर्न थालिएको छ।

यसै सन्दर्भमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईले राजा ज्ञानेन्द्र सडकमा आउने जानकारी दिँदै आफ्ना समर्थकलाई शनिबारसम्म काठमाडौं आउन आह्वान गरेका छन्। भूराजनीतिक चलखेल तीव्र बनेको र राज्य बचाउन राजपरिवार सडकमा आउन लागेको उनको दाबी छ। यसले पनि चुनावी माहोललाई अर्को दिशामा मोड्न सक्ने आकलन भइरहेको छ।

त्यस्तै, पश्चिमा देशहरूको चलखेल रोक्न नेपालमा राजसंस्था पुनःस्थापना गर्नुपर्ने पक्षमा भारत, चीन र रुसलगायतका देशहरू रहेको हल्ला चलाइएको छ भने नेपाली सेनालाई निर्वाचन सुरक्षाको जिम्मेवारी दिनुले पनि विभिन्न शंका उपशंका उत्पन्न गराएको छ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा निर्वतमान सभापति शेरबहादुर देउवा मतदान नजिकिएका बेला अचानक सिंगापुर प्रस्थान गरेका छन्। सबैभन्दा धेरै पटक प्रधानमन्त्री बनिसकेका देउवाको यो अचानक विदेश यात्राले पनि नेपाली राजनीतिमा केही नयाँ समीकरण बन्न सक्ने आशंका बढाएको छ। चुनावअघि नै कुनै नसोचेको घटना हुनसक्ने अनुमानले अहिले तराईदेखि पहाडसम्म राजनीतिक वृत्त तातिएको छ। के यो संयोग मात्र हो वा ठूलो राजनीतिक खेलको संकेत?

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button