मध्यपूर्व तनावपूर्ण बन्दा नेपालीको सुरक्षाप्रति प्रेम सागर पौडेलको चिन्ता, राजदूतावासलाई तत्काल पहल गर्न आग्रह

काठमाडौं। मध्यपूर्व क्षेत्रमा हाल देखा परेको अप्रत्याशित तनाव र अस्थिरताप्रति नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बढ्दो तनावका कारण त्यस क्षेत्रमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुरक्षा र भविष्यलाई लिएर चिन्ता बढेको उनले बताएका छन्।
अध्यक्ष पौडेलले युएई, इजरायल, इरान लगायत सम्पूर्ण मध्यपूर्वी देशहरूमा रहेका आफ्ना नेपाली नागरिकहरूसँग हार्दिक अपिल गर्दै उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासनका निर्देशनहरूको पालना गर्न र आ-आफ्नो सुरक्षालाई सर्वोपरि प्राथमिकता दिन आग्रह गरेका छन्। कुनै पनि आपत्कालीन अवस्थाको सामना गर्न आवश्यक सतर्कता र तयारी अवस्थामा रहन पनि उनले सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।
यसैगरी, अध्यक्ष पौडेलले सम्बन्धित मुलुकहरूमा रहेका नेपाली राजदूतावासहरू र नेपाल सरकारसमक्ष यी देशहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न अनुरोध गरेका छन्। उनले उनीहरूको अवस्थाबारे नियमित जानकारी लिने, सम्पर्क केन्द्रहरू सञ्चालन गर्ने र आवश्यक परे उद्धार तथा सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
संकटको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्ने र विपत्तिमा परेका हरेक नेपालीको सुरक्षा र सम्मानका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान पुर्यानुपर्ने विश्वास पौडेलले व्यक्त गरेका छन्।





