इरानमाथि अमेरिका–इजरायलको आक्रमण : ‘वार्ता’ को आवरणमा ‘शासन परिवर्तन’ को खेल?

# लक्की चन्द

अमेरिका र इजरायलले शनिबार बिहान इरानविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेका छन्। सञ्चारमाध्यमका अनुसार इरानले पनि इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमाथि जवाफी आक्रमण गरेको छ। विशेषगरी, यी आक्रमणहरू यस्तो बेला भएका हुन् जतिखेर अमेरिका र इरानबीच आणविक हतियारलाई लिएर वार्ता भइरहेको थियो। प्रश्न उठेको छ – वार्ताकै बीच अमेरिका र इजरायलले किन यो आक्रमण गरे? सैन्य रूपमा यो द्वन्द्व कसरी अगाडि बढिरहेको छ?

चिनियाँ अन्तर्राष्ट्रिय मामिला विज्ञहरूका अनुसार अमेरिका र इजरायलको मनसाय सधैं इरानमा ‘शासन परिवर्तन’ गर्ने नै रहेको छ र वार्ता केवल एक कूटनीतिक आवरण मात्र हुन सक्छ। चिनियाँ सैन्य मामिला विज्ञका अनुसार अमेरिका यस चरणमा जमीनी आक्रमणभन्दा हवाई आक्रमणमा केन्द्रित छ भने इरानले इजरायल र क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमाथि जवाफी कारबाहीका लागि क्षेप्यास्त्र र मानवरहित हवाई ड्रोन परिचालन गर्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियल एपमा जारी गरेको आठ मिनेट लामो भिडियो सन्देशमा आक्रमणको पुष्टि गर्दै इरानी जनतालाई आक्रमणपछि ‘आफ्नो सरकार आफैं सम्हाल्न’ चुनौती दिएका छन्। त्यसैगरी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि भिडियो सन्देश जारी गर्दै यो आक्रमण इरानबाट हुने ‘अस्तित्वगत खतरा हटाउन’ र इरानी जनताले आफ्नो भाग्य परिवर्तन गर्ने ‘अवस्था सिर्जना गर्न’ गरिएको बताएका छन्।

यो आक्रमण यस्तो बेला भएको हो, जब अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार आफैं इरानसँगको आणविक वार्ताको अवस्थाप्रति ‘असन्तुष्ट’ रहेको बताएका थिए।

साङ्घाई सेन्टर फर रिम्प्याक स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका उपाध्यक्ष तथा शैक्षिक निर्देशक लिउ छ्याङ्का अनुसार इरानसँगको वार्ता धेरै हदसम्म प्रतीकात्मक मात्र हुन सक्छ। उनको विचारमा वासिङ्टनको मूल उद्देश्य शासन परिवर्तन नै हो। इरानको कूटनीतिक अलगाव र आन्तरिक आर्थिक दबाबले अमेरिकी प्रशासनले यसलाई एक दुर्लभ रणनीतिक अवसरको रूपमा हेरेको हुन सक्छ।

शाङ्घाई इन्टरनेसनल स्टडिज युनिभर्सिटीको मध्यपूर्व अध्ययन संस्थानका प्राध्यापक डिङ लङ्का अनुसार वार्ताले कूटनीतिक आवरणको काम गर्छ भने सैन्य कारबाहीले अन्तर्निहित रणनीतिक मनसाय झल्काउँछ, जुन शासन परिवर्तनमा केन्द्रित छ। उनको विचारमा अमेरिकाको मनसायलाई हेर्दा वार्ताको नतिजा वा इरानले दिने सहुलियत जेसुकै भए पनि सैन्य द्वन्द्व अपरिहार्य हुनसक्छ।

सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण हवाई र समुद्री माध्यमबाट भइरहेको छ र यसले तेहरानस्थित प्रमुख सैन्य तथा राजनीतिक प्रतिष्ठानहरूलाई लक्षित गरेको छ। इस्फाहान, कुम, लोरेस्तान, कराज, करमानशाह र तबरिज सहरहरूमा पनि आक्रमण भएको छ। तेहरानमा गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, आणविक ऊर्जा संगठन र पार्चिन सैन्य कम्प्लेक्सलाई निशाना बनाइएको छ। इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईको कार्यालय नजिकै पनि विस्फोटनको आवाज सुनिएको तर उनी तेहरानमा नरहेको र सुरक्षित स्थानमा लगिएको जनाइएको छ।

सैन्य मामिला विज्ञ झाङ जुन्सेका अनुसार इरानी नौसेनामाथि आक्रमण गरेर अमेरिकाले खाडी क्षेत्रमा पूर्ण नियन्त्रण लिन खोजेको हुनसक्छ। उनका अनुसार हाल तैनाथ गरिएको मुख्य शक्तिमा मध्यपूर्वमा रहेका अमेरिकी लडाकु विमानहरू, दुई विमान वाहक पोत समूहका विमानहरू र इजरायली वायुसेना सम्मिलित छन्। अमेरिकाले यस साता १२ वटा एफ-२२ लडाकु विमान इजरायलको दक्षिणी ओभडा एयरबेसमा तैनाथ गरेको छ।

झाङका अनुसार हाल जम्मी युद्धको सम्भावना छैन र अमेरिका इराक र अफगानिस्तान जस्तो दलदलमा फस्न चाहँदैन। उनको विचारमा इरानले क्षेप्यास्त्र र ड्रोन परिचालन गर्नुका साथै सिरिया र हुथीजस्ता शक्तिहरूलाई समेत परिचालन गर्दै इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमाथि जवाफी आक्रमण गर्न सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button