मध्यपूर्वको आकाशमा मिसाइल धुवाँ: नेपालीको छटपटी र शान्तिकाे पुकार

काठमाडौं – मध्यपूर्वी आकाशमा मिसाइलका धुवाँले रेखा कोरेसँगै लाखौं नेपालीको मनमा त्रास र अनिश्चितताको बादल मडारिएको छ। अमेरिका, इजरायल र इरानबीच चर्किएको सैन्य तनावले विश्व शान्तिमा ठूलो संकट निम्त्याएको छ भने त्यसको प्रत्यक्ष मारमा विदेशी रोजगारीमा रहेका नेपाली परेका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा फैलिएको युद्धको ज्वालाले आफू बेचैन बनेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भावुक अपिल गर्दै भनेका छन्, ‘मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली अपत र कोलाहलमा छन्। तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।’ उनले युद्ध भूराजनीतिक स्वार्थको उपज भएको भन्दै शक्ति राष्ट्रहरूको स्वार्थले साना राष्ट्रहरू विवश हुनुपरेको टिप्पणी गरे। ‘सौभाग्यबस् हामीले यस भूमिमा मिसाइलको धुवाँ भोग्नु परेको छैन। मेरो प्रार्थना छ – कुनै पनि आवरणमा त्यो आउन नसकोस्,’ उनले भनेका छन्।

त्यस्तै, नेकपा एमालेका सचिव महेश बस्नेतले युद्धको यो घडीमा संयमता र कूटनीतिक पहलको आवश्यकता औंल्याएका छन्। उनले भनेका छन्, ‘यस प्रकारका द्वन्द्वले निर्दोष सर्वसाधारण, विशेषगरी महिला र बालबालिकामाथि ठूलो मानवीय संकट निम्त्याउने भएकाले सबै पक्षले संयमता अपनाउँदै कूटनीतिक समाधानतर्फ अघि बढ्नु आजको आवश्यकता हो।’ उनले विश्व समुदायले शान्ति र संवादको मार्ग रोज्नुपर्नेमा जोड दिए।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि तत्काल युद्धस्तरमा पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्। ‘फागुन १६ गते बिहानदेखि अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ। त्यसपछि इरानले पनि इजरायल र मध्यपूर्वका अमेरिकी सैन्य क्याम्पमा प्रत्याक्रमण गरेको छ। यसबाट मध्यपूर्वमा युद्ध सुरु भएको छ र मानवीय सुरक्षाको गम्भीर संकट पैदा भएको छ। लाखौं नेपालीको सुरक्षामा समेत ठूलो खतरा उत्पन्न भएको छ,’ गुरुङले भनेका छन्। उनले मध्यपूर्वतर्फका सबै हवाई उडान बन्द भएकाले नेपालीहरू थप जोखिममा परेको उल्लेख गर्दै सरकारलाई तत्काल उद्धारको ठोस योजना बनाउन दबाब दिएका छन्।

यसै सन्दर्भमा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एक विशेष अपिल गरिएको छ। नेपाली कांग्रेसका नेता बालेन्द्र साहले त्यस क्षेत्रमा रहेका आफन्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘त्यहाँ स्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु। साथै, आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्।’

युद्धको यो घडीमा नेपाली जनता, खासगरी मध्यपूर्वमा रहेका आफन्तजनको पीडा र चिन्ता एकातिर छ भने अर्कातिर शान्ति र संवादको माध्यमबाट मात्र समाधान सम्भव छ भन्ने सन्देश नेपाली नेतृत्वले दोहोर्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button