मिसाइलको आगोमा परिवार: इरानका सर्वोच्च नेता खामेनीका चार आफन्तको मृत्यु

काठमाडौं – मध्यपूर्वको आकाशमा बलिरहेको युद्धको ज्वालाले अब इरानको सर्वोच्च नेतृत्वकै परिवारलाई समेत निल्न पुगेको छ। अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीका चार जना निकटतम आफन्तको मृत्यु भएको पुष्टि भएको छ।
इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको परिवारका स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, खामेनीकी छोरी, ज्वाइँ, नाति र एक बुहारीको अमेरिकी-इजरायली आक्रमणमा ज्यान गएको हो। फार्स एजेन्सीले भनेको छ, ‘सर्वोच्च नेताको परिवारका जानकार स्रोतसँग सम्पर्क पछि, दुर्भाग्यवश क्रान्तिकारी नेताकी छोरी, ज्वाइँ र नातिको शहादतको समाचार पुष्टि भएको छ’।
रिपोर्टहरूका अनुसार, तेहरानस्थित सर्वोच्च नेताको सुरक्षित आवासीय परिसर र वरपरका क्षेत्रहरूमा उच्च क्षमताका हतियार प्रहार गरिएको थियो, जसमा यी चार जनाले ज्यान गुमाउनु परेको हो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी आफैं पनि मारिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, ‘खामेनी, इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक, मरिसकेका छन्। यो इरानका जनताका लागि मात्र होइन, ती सबै महान अमेरिकीहरू र विश्वभरका ती मानिसहरूका लागि न्याय हो, जो खामेनी र उसको रक्तपिपासु गिरोहले मारिएका वा अपांग बनाइएका थिए’।
तर, इरानी सञ्चारमाध्यम तस्निम र मेहरले भने खामेनी ‘सुरक्षित र दृढतापूर्वक मैदानको कमान्ड सम्हालिरहेको’ जनाएका छन्। यद्यपि, उनीहरूले परिवारका सदस्यको मृत्यु भने पुष्टि गरेका छैनन्।
इरानको रेड क्रिसेन्ट सोसाइटीले शनिबारको आक्रमणमा परी कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको जनाएको छ। इरानका ३१ प्रदेशमध्ये २४ प्रदेश यस आक्रमणबाट प्रभावित भएका छन्।
यस आक्रमणपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरेको छ, जसले गर्दा कुवेत, कतार, युएई र बहराइनमा पनि विस्फोट भएका छन्। हवाई उडानहरू स्थगित भएका छन् भने होरमुज जलडमरूमध्य बन्द गरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको उल्लङ्घन भन्दै तत्काल युद्धविराम र वार्तामा फर्कन आग्रह गरेका छन्। चीन, रुस र अरब लिगले पनि चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आह्वान गरेका छन्।





