अमेरिका–इजरायलको आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा रुसको कडा प्रतिक्रिया: तत्काल रोकिनु पर्छ हिंसा

न्यूयोर्क, । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै रुसी राजदूत भासिली नेबेन्ज्याले अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सशस्त्र आक्रमणको कडा भर्त्सना गरेका छन्। उनले यस आक्रमणलाई मध्यपूर्वमा हिंसाको अर्को खतरनाक शृङ्खला भन्दै तत्काल रोक्न माग गरे।

रुसी राजदूत नेबेन्ज्याले सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भने, “फेब्रुअरी २८ को बिहानैदेखि अमेरिका र इजरायलले इरानको भूमिमा व्यापक सैन्य आक्रमण सुरु गरेका छन्। यो आक्रमणको निशानामा इरानको शीर्ष राजनीतिक नेतृत्व र शान्तिपूर्ण आणविक संरचनाहरू समेत रहेको सार्वजनिक रूपमा घोषणा गरिएको छ।”

उनले इरानी अधिकारीहरूबाट प्राप्त जानकारी उद्धृत गर्दै भने, “यस आक्रमणमा परी हालसम्म २४ प्रदेशहरूमा दुई सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ।” नेबेन्ज्याले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, उनले इरानमा रहेका रुसी नागरिकहरूको सुरक्षाको लागि आवश्यक सबै कदम चालिएको जानकारी दिए।

रुसी राजदूतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न यो आक्रमण गरिएको भनेको टिप्पणीलाई ‘निराधार’ करार दिए। उनले भने, “इरानले पटक–पटक अमेरिकासँग नयाँ सम्झौताको आधारशिला आफूलाई आणविक हतियाररहित राष्ट्रको रूपमा कायम राख्ने, तर शान्तिपूर्ण आणविक ऊर्जाको विकास गर्ने आफ्नो कानुनी अधिकारको सम्मान हुनुपर्ने सर्त राख्दै आएको छ।”

नेबेन्ज्याले पश्चिमा मुलुकहरूले इरानको आणविक कार्यक्रमबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा भएको भन्दै अमेरिकी–इजरायली आक्रमणलाई जायज ठहराउन खोज्नु पूर्ण रूपले निराधार रहेको बताए।

“यस विषयमा विश्वसनीय जानकारीको एकमात्र स्रोत अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को प्रतिवेदन हो, जसले कहिल्यै पनि इरानले आणविक हतियार विकास गरिरहेको संकेत गरेको छैन,” उनले भने। उनले आईएईएका महानिर्देशक राफाएल ग्रोसीसँग अमेरिका र इजरायलद्वारा आणविक अप्रसार सन्धि (एनपीटी) को उल्लङ्घनको स्पष्ट निन्दा गर्न माग गरे।

रुसी राजदूतले अमेरिका र इजरायललाई आफ्नो आक्रामक कार्य तत्काल रोक्न दृढतापूर्वक माग गरे। उनले भने, “इरानी मुद्दा, त्यसमा पनि यसको आणविक पक्षको समाधानको लागि शान्तिपूर्ण र कूटनीतिक विकल्प बाहेक अरू कुनै विकल्प छैन र रहने पनि छैन।”

उनले राजनीतिक–कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्न र अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र हितको सन्तुलनका आधारमा समाधान खोज्न आग्रह गरे। नेबेन्ज्याले भने, “यस्तो प्रयासमा रुसले आवश्यक सबै सहयोग गर्न सधैं तत्पर छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button