‘सिंहदरबार जल्दा सपना जल्यो’: केपी शर्मा ओली

काठमाडौं। निर्वाचनको मुखैमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भावुक भिडियो सन्देश जारी गर्दै देश र संविधानको रक्षाका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन्। ओलीले भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र प्रहरी चौकीमा भएको आगजनीलाई सम्झँदै त्यतिबेला संरचनासँगै जनताको सपना पनि जलेको बताएका छन्।

जीवनको उत्तरार्धमा चुनावी प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्। मेरा बाँच्ने दिन बाँचिसकेका दिनभन्दा कम छन्, तर म बाँच्ने दिन बढी भएकाहरूका लागि लडिरहेको छु।’

उनले ‘देश पहिले’ भन्नुको अर्थ संविधान, नियम र जनताको अधिकार पहिले भएको स्पष्ट पार्दै भने, ‘संविधान बचे मात्र तपाईंको अधिकार बच्छ। आज हामीलाई संविधान नहल्लिने, नियम नमिच्ने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ।’

सार्वजनिक सम्पत्तिलाई जनताको कर र भरोसाको प्रतीक बताउँदै ओलीले ती संरचना जल्दा जनताको सपना पनि जल्ने भन्दै अब कहिल्यै नजल्ने ग्यारेन्टीको आवश्यकता औंल्याए। ‘देश पहिले भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले हो। आफ्नो माटो, सीमा र पहिचानमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल हो,’ उनको भनाइ थियो।

जिन्दगीको अन्तिम मोडमा उभिएर राष्ट्रको पक्षमा बोल्नु आफ्नो कर्तव्य भएको बताउँदै ओलीले मतदातालाई सचेत रहन आग्रह गरे। उनले भने, ‘यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र बोल्नुभएन भने इतिहासले मात्र होइन, तपाईं आफैंले आफैंलाई कहिल्यै माफ गर्नुहुने छैन।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button