खामेनीको बलिदान: इरानमाथिको आतंकवादी आक्रमणविरुद्ध नेपालमा भर्त्सना

काठमाडौं। अमेरिकी साम्राज्यवादले मध्यपूर्वको सार्वभौम राष्ट्र इरानमाथि गरेको आतंकवादी आक्रमणको नेपालमा कडा विरोध भएको छ। उक्त आक्रमणमा इस्लामिक क्रान्तिका नेता तथा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी लगायत दर्जनौंको ज्यान गएको छ।
समाजवादी कम्युनिस्ट पार्टी, नेपालले एक प्रेस वक्तव्य जारी गर्दै अमेरिकी आतंकवादी आक्रमणको कडा भर्त्सना गरेको छ। पार्टीले इरानी स्वाधीनता र सार्वभौमिकताको रक्षार्थ साम्राज्यवादविरुद्धको प्रतिरोध युद्धमा जीवनको आहुति दिने सर्वोच्च नेता खामेनी लगायत साम्राज्यवाद विरोधी इरानी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, यो शोकाकुल घडीमा सम्पूर्ण इरानी जनताप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘इरानमाथि अमेरिकाले गरेको यो आतंकवादी आक्रमण मध्यपूर्वको तेल कब्जा गर्ने उद्देश्यमा आधारित छ। मध्यपूर्वको खनिज कब्जा गर्ने अमेरिकी उद्देश्यमा इरान बाधक बन्दै आएको थियो। अमेरिकी साम्राज्यवादले विगत लामो समयदेखि इरानलाई झुकाउन अनेक प्रपञ्च, षड्यन्त्र र आक्रमण गर्दै आएको थियो। इरानले ती सबै साम्राज्यवादी आक्रमणको निरन्तर प्रतिरोध गर्दै सिङ्गो मध्यपूर्वको नेताको रूपमा आफूलाई उभ्याउँदै आएको थियो।’
पार्टीले साम्राज्यवादको हिंस्रक र मानवताविरोधी चरित्र इरानमाथिको पछिल्लो आक्रमणले पुष्टि गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय नियम, कानुन र मूल्यमान्यताको धज्जी उडाएको टिप्पणी गरेको छ। ‘यस प्रकारको अमेरिकी आतंकवादी दादागिरीलाई समयमै नरोक्ने हो भने एकातिर कमजोर राष्ट्रहरूको स्वाधीनता र अस्तित्वमाथि खतरा उत्पन्न हुनेछ भने अर्कोतिर मानवजातिले विश्वयुद्धको जोखिम बेहोर्नुपर्ने अवस्था निम्तिन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ।
विश्वभरका सबै साम्राज्यवाद विरोधी शक्तिहरूलाई सबै प्रकारका अन्यायपूर्ण युद्धको अन्त्य र विश्व शान्तिको पक्षमा दबाब बढाउन आग्रह गर्दै पार्टीले विश्वबाट साम्राज्यवाद र पुँजीवादको अन्त्य नगरी विश्वशान्ति र मानव जातिको समुन्नत भविष्यको रक्षा सम्भव नहुने धारणा व्यक्त गरेको छ।
अन्त्यमा, मध्यपूर्वमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै त्यहाँस्थित नेपालीहरूका लागि सुरक्षा व्यवस्था गर्न नेपाल सरकारलाई पनि ध्यानाकर्षण गराइएको छ।





