रक्तरञ्जित आक्रमणपछि इरानको कडा चेतावनी

‘रेड लाइन’ पार गरेको अमेरिक–इजरायललाई प्रतिशोधको सन्देश

तेहरान – अमेरिक र इजरायलद्वारा शनिबार गरिएको समन्वित हवाई आक्रमणपछि इरानले तीव्र प्रतिशोधको चेतावनी दिएको छ। इरानका उच्च सुरक्षा अधिकारी अली लारिजनीले सामाजिक सञ्जाल मार्फत अमेरिक र इजरायललाई “आफ्ना घातक कार्यको पछुतो हुने गरी जवाफ दिने” उद्घोष गरेका छन्।

लारिजानीले लेखेका छन्, “हामी जियोनिस्ट अपराधीहरू र निकृष्ट अमेरिकीहरूलाई उनीहरूको कार्यको पछुतो गराउनेछौं।” इरानी नेतृत्वको यो अभिव्यक्तिले तेहरानको आक्रोश र प्रतिशोधको स्पष्ट संकेत दिएको विश्लेषकहरू बताउँछन्।

यसैबीच, इरानी संसदका सभामुख माेहम्मद बाकर कलिबाफले पनि इस्लामिक क्रान्तिका नेतामाथि भएको हत्या काण्डको कडा शब्दमा निन्दा गर्दै इरानका सशस्त्र बलले “दुश्मनलाई दया माग्न बाध्य पार्ने गरी पीडादायी प्रहार गर्ने” चेतावनी दिएका छन्। आइतबार टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले भने, “तपाईंहरूले हाम्रो ‘रेड लाइन’ पार गर्नुभएको छ। अब यस्तो प्रहार हुनेछ, जसले तपाईंहरूलाई दया माग्न बाध्य पार्नेछ।”

शनिबार साँझ इरानी रेड क्रिसेन्ट सोसाइटीले सार्वजनिक गरेको विवरण अनुसार अवैध हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन्। आइतबार पनि तेहरानसहित विभिन्न प्रान्तहरूमा थप आक्रमणका घटना भएको जनाइएको छ।

आक्रमणको जवाफस्वरूप ईस्लामिक रिभाेलुसन गार्ड कर्पस् (आईआरजीसी) ले कब्जा गरिएका भू–भागका विभिन्न सैन्य लक्ष्यहरूमाथि व्यापक प्रतिआक्रमण सुरु गरेको जनाएको छ। तेल अविव, हाईफा लगायतका सहरहरूमा प्रहार गरिएको दाबी गरिएको छ, जसका कारण बासिन्दाहरू भूमिगत आश्रयस्थलतर्फ सरेको बताइएको छ।

त्यसैगरी, पर्सियन गल्फ क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि लक्षित गरिएको इरानी पक्षको दाबी छ। बहराइन, कतार, साउथ अरेबिया, जाेर्डन, इराक र युनाइटेड अरब ईमिरेट्समा रहेका अमेरिकी अड्डाहरू निशानामा परेका जनाइएको छ। इरानले यसअघि नै यी देशहरूलाई आफ्नो भूमिबाट अमेरिकालाई इरानविरुद्ध आक्रमण गर्न नदिन चेतावनी दिएको थियो।

शनिबारको आक्रमणमा इस्लामिक क्रान्तिका नेता आयतुल्लाह सेय्यद अली खामेनी सहित रक्षा प्रमुख र आईआरजीसी कमान्डरसहितका उच्च सैन्य अधिकारीहरू मारिएको इरानी पक्षले जनाएको छ। यो घटनापछि देशभर शोक र आक्रोश फैलिएको छ।

आइतबार राजधानी तेहरानमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए। तेहरानको ऐतिहासिक ईन्क्लाब स्क्वायरमा ठूलो भीड जम्मा भई दिवंगत नेताको तस्वीर र राष्ट्रिय झण्डा बोकेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रदर्शनकारीहरूले “अमेरिका मुर्दाबाद” र “इजरायल मुर्दाबाद” जस्ता नाराबाजी गर्दै राष्ट्रिय एकता र इस्लामिक क्रान्तिका आदर्शप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए।

इरानी सरकारले आइतबार ४० दिनको राष्ट्रिय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ। सरकारद्वारा जारी वक्तव्यमा घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपराधको जवाफ नरोकिने र यसले इस्लामिक तथा शिया इतिहासमा “नयाँ अध्याय” सुरु गर्ने उल्लेख गरिएको छ।

शनिबार बिहान अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै इरानका दर्जनौं सहरहरूलाई लक्षित गरी संयुक्त आक्रमण गरेको इरानी पक्षको आरोप छ। पछिल्ला घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव चरमोत्कर्षमा पुगेको छ भने विश्व समुदायले सम्भावित व्यापक द्वन्द्वको जोखिमबारे चिन्ता व्यक्त गर्न थालेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button