अमेरिका–इजरायल आक्रमणपछि चीनको कडा प्रतिक्रिया : ‘युद्ध होइन, वार्ता नै एकमात्र विकल्प’

काठमाडौ / संयुक्त राष्ट्रसंघमा चीनका स्थायी प्रतिनिधि फु कोङले अमेरिका र इजरायलद्वारा शनिबार इरानमाथि गरिएको सैन्य आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकलाई सम्बोधन गर्दै फु कोङले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा बल प्रयोगको धम्कीको चीन सदैव विरोध गर्ने बताए। उनले संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्तहरूको सबै पक्षले पालना गर्नुपर्नेमा जोड दिए।

“इरान र क्षेत्रका अन्य मुलुकको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको सम्मान हुनैपर्छ,” उनले भने।

चिनियाँ राजदूतले द्वन्द्वका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएकोमा गहिरो पीडा व्यक्त गर्दै भने, “हतियारयुक्त द्वन्द्वमा नागरिकको सुरक्षाको रेखा कहिल्यै नाघिनु हुँदैन। अन्धाधुन्ध बल प्रयोग अस्वीकार्य छ।”

उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनसहित अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्वहरू पूरा गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रतिष्ठानमाथिको आक्रमण रोक्न आह्वान गरे।

मध्यपूर्वमा बढ्दो तनाव र द्वन्द्वको फैलावट कसैको हितमा नभएको उल्लेख गर्दै फु कोङले अन्तर्राष्ट्रिय विवाद समाधानको सही मार्ग बल प्रयोग नभएको बताए। “बल प्रयोगले घृणा र द्वन्द्वलाई मात्र उत्प्रेरित गर्छ। विवाद समाधानको एकमात्र मार्ग भनेको संवाद र वार्ता नै हो,” उनले भने।

चीनले तत्काल सैन्य कारबाही रोकेर द्वन्द्वको चक्रलाई निरन्तरता दिन नदिन आह्वान गरेको छ। फु कोङले सम्बन्धित पक्षलाई राजनीतिक इमानदारिता प्रदर्शन गर्दै सकेसम्म चाँडो वार्ता पुनः सुरु गर्न र राजनीतिक समाधानको सही बाटोमा फर्कन आग्रह गरे।

“चीन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर शान्ति प्रयासलाई अघि बढाउन र मध्यपूर्वमा सकेसम्म चाँडो शान्ति र स्थिरता बहाल गर्न तयार छ,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button