इरान संकटमा चीनको तीन सूत्रीय अडान : तत्काल युद्धविराम, वार्ता र एकपक्षीय कारबाहीको विरोध

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले इरानको वर्तमान अवस्थाबारे चीनको स्पष्ट अडान राखेका छन्। रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा उनले तीन मुख्य बुँदामा चीनको धारणा प्रस्तुत गरे।

परराष्ट्र मन्त्री वाङ यीले भने, “इरानको सन्दर्भमा चीनको अडान स्पष्ट छ : पहिलो, तत्काल सैन्य कारबाही बन्द गरिनुपर्छ। दोस्रो, सकेसम्म चाँडो वार्ता र संवादमा फर्कनुपर्छ। र तेस्रो, एकपक्षीय कारबाहीको सामूहिक रूपमा विरोध गरिनुपर्छ।”

उनले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय शान्तिका लागि कूटनीतिक पहल नै एकमात्र समाधान भएकोमा जोड दिए। रुसी समकक्षीसँगको वार्तामा दुई नेताबीच इरानसहितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहकार्यलाई अझ प्रगाढ बनाउने सहमति भएको छ।

यसअघि शनिबार अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो सैन्य कारबाही गरेपछि इरानले जवाफी आक्रमण गरेको थियो। उक्त घटनापछि विश्वभर चिन्ता बढेको छ र विभिन्न देश तथा अन्तर्राष्ट्रिय संगठनहरूले तनाव कम गर्न आग्रह गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button