इरानमा फसेका चिनियाँ नागरिकको सकुशल निकासी सुरु, अजरबैजान हुँदै सुरक्षित स्थानमा

काठमाडौं । अमेरिका र इजरायलको सैन्य आक्रमणपछि तनावग्रस्त इरानमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षित निकासी गर्ने क्रम सुरु भएको छ। अजरबैजानी ओभरसीज चिनियाँ संघकी अध्यक्ष बाओ लिजुनले आइतबार ग्लोबल टाइम्सलाई जानकारी दिँदै इरानमा रहेका १० भन्दा बढी चिनियाँ नागरिकहरूको पहिलो समूह अस्टारा सीमा नाका हुँदै अजरबैजान प्रवेश गरेको बताएकी छन्। उनीहरूलाई अब निर्धारित कार्यक्रमअनुसार सुरक्षित रूपमा अजरबैजानको राजधानी बाकु पुर्याइने छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण गरेपछि इरानले जवाफी कारबाही गरेको थियो। सोही परिप्रेक्ष्यमा चिनियाँ विदेश मन्त्रालय र इरानस्थित चिनियाँ दूतावास तथा वाणिज्य दूतावासहरूले आइतबार इरानमा रहेका चिनियाँ नागरिकहरूलाई परिस्थितिको नियमित अनुगमन गर्न, व्यक्तिगत सुरक्षा सावधानी अपनाउन र उपयुक्त माध्यमबाट सकेसम्म चाँडो सुरक्षित क्षेत्रमा निकासी हुन आग्रह गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार इरानबाट निकासीका लागि सम्भाव्य मार्गहरूमा अजरबैजान, आर्मेनिया, टर्की र इराक रहेका छन्।





