‘जंगली राज’को सुरुवात : खामेनी हत्याको भत्र्सना गर्दै खनालले भने– अब विश्व मौन बस्न सक्दैन

काठमाडौं, – अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैनिक आक्रमण तथा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीको हत्याप्रति पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
हिजो फेब्रुअरी २८, २०२६ मा भएको उक्त आक्रमणलाई खनालले मानव अधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको परित्याग र अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला धज्जी उडाउने कार्य भन्दै कडा शब्दमाि निन्दा गरेका छन्। एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गरेर अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रको समेत उल्लंघन भएको उनको भनाइ छ।
खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा भएको यो संयुक्त आक्रमणले विश्वलाई असाधारण रूपले ‘जंगली राज’को युगतर्फ धकेल्ने दुस्साहस गरेको छ।” यस कदमले विशेषगरी साना, विकासशील र तेस्रो विश्वका मुलुकहरूको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्तामाथि अभूतपूर्व खतरा पैदा गरेको उनले बताएका छन्।
यो नग्न र जंगली आक्रमणविरुद्ध अब विश्व शक्तिहरू मौन बस्ने अवस्था नरहेको भन्दै उनले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यो दादागिरी र गैरकानुनी हिंसाविरुद्ध एकताबद्ध हुन हार्दिक आह्वानसमेत गरेका छन्।





