अमेरिकासँग व्यापार प्रवर्द्धन गर्न चीन तयार : उद्योगीको टोली पठाइने

काठमाडौं, २ मार्च : चीनले अमेरिकी कम्पनीहरूसँग लगानी, व्यापार र प्रविधिका क्षेत्रमा आदानप्रदान तथा सहकार्य अभिवृद्धि गर्ने भएको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) ले आगामी दिनमा उपयुक्त समयमा चिनियाँ उद्योगीहरूको टोली अमेरिका भ्रमणमा पठाउने योजना समेत सार्वजनिक गरेको छ।
सीसीपीआईटीका प्रवक्ता वाङ वेनश्वाइले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र अमेरिकाको व्यापारिक समुदाय सधैं घनिष्ठ र पारस्परिक लाभको साझेदार रहँदै आएको छ।’ दुई देशबीच सहकार्यको लागि अनुकूल वातावरण सिर्जना गर्न सीसीपीआईटीले हालसम्म सन् २०२६ मा अमेरिकामा हुने प्रदर्शनीहरूमा भाग लिन चिनियाँ उद्यमीहरूका लागि ११९ वटा गतिविधिहरू स्वीकृत गरेको उनले जानकारी दिए। फेब्रुअरी महिनासम्ममा तीमध्ये ३० वटा गतिविधिहरू सम्पन्न भइसकेका छन्।
प्रवक्ता वाङले विदेशी लगानी उद्यमहरूका लागि समर्पित कार्यदलको प्रभावकारी उपयोग गर्दै अमेरिकी लगानी उद्यमहरूको उचित मागहरू पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। डिसेम्बरमा हुने जी–२० राष्ट्रप्रमुखहरूको शिखर सम्मेलनका क्रममा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सीईओ शिखर सम्मेलन तथा बी–२० व्यापार गतिविधिहरूको अवसरमा अमेरिकी व्यापारिक समुदायसहित सबै पक्षसँग मिलेर साझा सहमति निर्माण गर्न, सहकार्य गहिरो बनाउन र एसिया–प्रशान्त तथा विश्व अर्थतन्त्रको समावेशी, बलियो र दिगो वृद्धिलाई प्रवर्द्धन गर्न सीसीपीआईटीले पहल गर्ने पनि उनले बताए।





