नेतन्याहूद्वारा तेहरानमा ‘निर्णायक प्रहार’को घोषणा, १००,००० सैनिक परिचालन

तेल अभिव, / इरान विरुद्धको जारी आक्रमणलाई तीव्र पार्दै इजरायली प्रधानमन्तरी बेन्जामिन नेतन्याहूले आगामी दिनहरूमा तेहरानमाथिको प्रहार झन् शक्तिशाली हुने चेतावनी दिएका छन्। तेल अभिवस्थित किर्या सैन्य मुख्यालयको छतबाट जारी गरेको भिडियो वक्तव्यमा नेतन्याहूले अमेरिकी सहयोगमा भइरहेको यो आक्रमणलाई आफूले ४० वर्षदेखि चाहेको ‘निर्णायक कदम’को संज्ञा दिए।
शनिबारदेखि इजरायल–अमेरिकी संयुक्त अभियान अन्तर्गत भएको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेई र दर्जनौं वरिष्ठ अधिकारीहरू मारिएको नेतन्याहूले बताए। “हिजो हामीले खामेनेईलाई ढाल्यौं, उनका साथै दर्जनौं वरिष्ठ अधिकारीहरूलाई पनि। हाम्रो सेनाले अहिले तेहरानको मुटुमा प्रहार गरिरहेको छ, जसको तीव्रता आगामी दिनहरूमा अझै बढ्नेछ,” उनले भने।
यसैबीच, इजरायली सेनाले १००,००० आरक्षित सैनिक परिचालनको तयारी गरेको जनाएको छ। सिरिया, लेबनान, कब्जा गरिएको पश्चिमी किनार, गाजा पट्टी र दक्षिणी इजरायलको सिमानामा सुरक्षा सतर्कता बढाउन यो कदम चालिएको सेनाले जनाएको छ। इजरायली आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी लक्ष्यहरूमाथि जवाफी कारबाही गरेको छ।





