‘युवा असन्तोषको राजनीतिक रूप’ वा मौन अवधिअघिको रणनीति?

काठमाडौं / निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशित गरेको रिपोर्टले नेपाली राजनीतिमा थप बहस जन्माएको छ। कतिपयले यसलाई ‘सामान्य अन्तर्राष्ट्रिय कभरेज’को संज्ञा दिएका छन् भने कतिपयले ‘मौन अवधिअघि माहोल बनाउने प्रयास’ भन्दै शंका गरेका छन्।
बीबीसी र रोयटर्सजस्ता विश्व प्रसिद्ध सञ्चारमाध्यमहरूले प्रकाशित गरेको सामग्रीमा बालेनलाई ‘र्यापर टर्न्ड पोलिटिसियन’ (र्यापरबाट राजनीतिज्ञ बनेका) को रूपमा चित्रण गरिएको छ। पूर्वी नेपालमा समर्थकहरूले घेरिएका बालेनको तस्वीरसहितको रिपोर्टमा ज्वरो आएकी ७ वर्षीया बालिकादेखि स्वास्थ्य परीक्षण छोडेर फोटो खिच्न पुगेकी मुटुरोगी महिलासम्मका भावनात्मक उद्धरणहरू समावेश गरिएको छ, जसले उनको जनाधारको विविधता र भावनात्मक जोडलाई उजागर गरेको छ।
रिपोर्टमा विगतको ‘जेन–जी प्रदर्शन’ (जसमा ७७ जनाको ज्यान गएको थियो) र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासम्मको प्रसंग जोड्दै बालेनलाई ‘युवा असन्तोषको राजनीतिक रूप’ भनिएको छ। विशेषगरी, ओलीकै गृहजिल्ला झापामा बालेनले दिएको चुनौतीलाई रिपोर्टले विशेष रूपमा स्थान दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, विदेशी सञ्चारमाध्यमले निर्वाचनको संवेदनशील घडीमा एक पात्रलाई केन्द्रमा राखी भावनात्मक फ्रेममा समाचार सम्प्रेषण गर्दा मतदातामा मनोवैज्ञानिक प्रभाव पार्न सक्छ। गत साता मात्र बीबीसीले प्रसारण गरेको एकपक्षीय डक्युमेन्ट्रीको चर्को आलोचना भएको थियो, जसमा राजनीतिक दलका नेता, कार्यकर्ता, सञ्चारकर्मी र कानुन व्यवसायीले समेत असन्तुष्टि जनाएका थिए।
यसैबीच, रोयटर्सले अघिल्लो साता नै निर्वाचनबारे लेखेको विस्तृत समाचारको केन्द्रविन्दु पनि बालेन नै थिए। रोयटर्सले बालेनको उदयसँगै सावधानीसमेत जनाएको थियो – ‘यदि उनले जनचाहनालाई सम्बोधन गर्न सकेनन् भने, छोटो समयमै धमिरा लागेको काठझैँ मक्किने वा सक्किने जोखिम पनि उत्तिकै छ।’
आज (मौन अवधि सुरु हुनुअघि) बीबीसी विश्व सेवाले बालेनबारे अर्को एउटा समाचार प्रकाशित गरेको छ, जसको शीर्षक छ – ‘अ र्यापस्टार माइट जस्ट बिट अ फर्मर पिएम, ह्वाट दिस सेज एबाउट नेपाल्स जेन जी इलेक्सन’ अर्थात ‘एउटा र्यापरले पूर्वप्रधानमन्त्रीलाई हराउन सक्छ, नेपालको जेन जी निर्वाचनले के भन्छ ?’ यस अघिल्लो डक्युमेन्ट्री एकतर्फी भएको भन्दै विरोध भएपछि बीबीसीले आजको समाचारमा भने केही सन्तुलित दृष्टिकोण अपनाएको आभास गराएको छ, यद्यपि उसको केन्द्रीय कथावस्तु पुन: बालेन नै छन्।
यसरी निर्वाचनको अन्तिम घडीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एक स्वतन्त्र व्यक्तित्वलाई केन्द्रमा राख्दै गरेको विश्लेषण र रिपोर्टिङले नेपाली राजनीति र मतदातामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ। तर, यसले नेपालको युवा पुस्ताको राजनीतिक चेतना र उनीहरूको ‘च्वाइस’ प्रति अन्तर्राष्ट्रिय समुदायको चासो भने स्पष्ट झल्काएको छ।





