इरानमाथिको अमेरिकी–इजरायली आक्रमणको रुसले गर्यो भत्र्सना, भन्यो – ‘राजनीतिक हत्याको निन्दा गर्दछौं’
मस्को – इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेई र उनका परिवारका सदस्यहरूसहित उच्च पदस्थ अधिकारीहरूको अमेरिकी–इजरायली हमलामा मृत्यु भएको घटनाप्रति रुसले कडा आपत्ति जनाएको छ। रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन र सभ्य अन्तर्राष्ट्रिय सम्बन्धको मूल्यमान्यताविपरीतको कदम भनेको छ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिका र इजरायलको यो संयुक्त आक्रमणलाई ‘राजनीतिक हत्या र सार्वभौम राष्ट्रका नेताहरूको शिकार’ गर्ने कुप्रवृत्तिको संज्ञा दिइएको छ। रुसले यस्तो कार्यलाई अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको कट्टर विरोधी र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन भन्दै कडा भत्र्सना गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘रुसी संघ सार्वभौम राष्ट्रका नेताहरूको राजनीतिक हत्या र शिकार गर्ने प्रवृत्तिको निर्णायक रूपमा विरोध गर्दछ, जुन सभ्य अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तहरूको विपरीत छ र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन हो।’
जारी युद्धका कारण निर्दोष नागरिकको मृत्यु हुने क्रम बढेको र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेकोप्रति पनि रुसले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिका अनुसार, इरानले फारसी खाडीका अरब राष्ट्रहरूमा रहेका अमेरिकी सैनिक अड्डामा गरेको जवाफी हमला र एयर डिफेन्स प्रणालीको सक्रियताका कारण दुबई र अल–कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, बहराइन, कतार, कुवेत, युएई र साउदी अरबका समुद्री बन्दरगाह, अग्ला भवन र होटलहरू प्रभावित भएका छन्।
प्राप्त जानकारीअनुसार, विश्वको ऊर्जा व्यापारको जीवन रेखा मानिने होर्मुज जलडमरूमा जलमार्ग यातायात ठप्प भएको छ। यसले यस क्षेत्रबाट हुने हाइड्रोकार्बन (तेल र ग्यास) को निर्यातमा पूर्णविराम लगाउन सक्ने र विश्व तेल तथा ग्यास बजारमा ठूलो असन्तुलन सिर्जना गर्न सक्ने रुसी विदेश मन्त्रालयले जनाएको छ।
रुसले तत्काल युद्धविराम गर्न, तनाव कम गर्न र संयुक्त राष्ट्र संघको बडापत्र तथा आणविक हतियार अप्रसार सन्धिको आधारमा समस्या समाधानका लागि राजनीतिक–कूटनीतिक प्रक्रियामा फर्कन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी तत्काल तनाव कम गर्न, युद्ध रोक्न र संयुक्त राष्ट्र बडापत्र तथा आणविक हतियार अप्रसार सन्धिको आधारमा समस्या समाधानको लागि राजनीतिक–कूटनीतिक प्रक्रियामा फर्कन आह्वान गर्दछौं। यस क्रममा फारसी खाडीका सबै राष्ट्रहरूको वैधानिक हितलाई ध्यानमा राखिनुपर्छ।’





