अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै बेलायत: चिनियाँ व्यवसायमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन माग

काठमाडौं / चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बेलायत सरकारले रूसविरुद्ध लगाएको भन्दै हालै घोषणा गरेको नयाँ प्रतिबन्धको कडा भर्त्सना गरेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ताले बेलायतको उक्त कदम अन्तर्राष्ट्रिय कानुनविपरीत भएको र यसको कुनै वैधानिक आधार नरहेको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा एक पत्रकारले फेब्रुअरी २४ तारिख बेलायती विदेश मन्त्रालयले रूससँग सम्बन्धित ठहर्याउँदै धेरै चिनियाँ कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखेको विषयमा जिज्ञासा राखेका थिए। सोही प्रश्नको जवाफ दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले बेलायतले पटक-पटक यस्तो निहुँमा चिनियाँ व्यवसायलाई लक्षित गर्नु दुःखद रहेको बताए।

प्रवक्ताले भने, “बेलायतले लगाएको यो एकपक्षीय प्रतिबन्ध संयुक्त राष्ट्रसंघको स्वीकृतिबिना गरिएको कार्य हो, जसले अन्तर्राष्ट्रिय कानुनको मर्म र भावनाको अपमान गरेको छ। चीन यसप्रति अत्यन्त असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ।”

उनले युक्रेन सङ्कटको विषयमा चीनको अडान स्पष्ट रहेको उल्लेख गर्दै भने, “चीनले सधैँ अन्तर्राष्ट्रिय दायित्वअनुरूप दोहोरो प्रयोग हुन सक्ने (सैन्य तथा नागरिक) वस्तुको निर्यातमा कडा नियमन गर्दै आएको छ। चीन र रूसका कम्पनीहरूबीच भइरहेको सामान्य व्यापारिक सहकार्यलाई कसैले पनि गलत तरिकाले प्रभावित पार्नु हुँदैन।”

चीनले बेलायतलाई शीतलहरले ग्रसित द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउने सोचले तुरुन्तै आफ्नो गल्ती सच्चाउन र चिनियाँ व्यवसायमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेको छ। प्रवक्ताले चीनले आफ्ना व्यवसायको वैधानिक अधिकार र हितको रक्षा गर्न हरसम्भव कदम चाल्ने चेतावनी समेत दिए।

यसरी बेलायतले पश्चिमा देशहरूको दबाबमा परी चीनविरुद्ध यस्तो कदम चालेको विश्लेषकहरूले बताएका छन्। चीनले भने आफ्नो राष्ट्रिय हित र व्यवसायको सुरक्षाका लागि कूटनीतिक र आर्थिक दुवै तहबाट संघर्ष जारी राख्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button