होर्मुज जलडमरूमा तनाव: चीनको आग्रह- तत्काल सैन्य कारबाही बन्द गरियोस्
काठमाडौं / चीनले पश्चिम एसियाको रणनीतिक महत्त्व बोकेको होर्मुज जलडमरूमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण पक्षहरूलाई संयमता अपनाउन आग्रह गरेको छ। चिनियाँ परराष्ट्रमन्त्रालयकी प्रवक्ता माओ निङले आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस क्षेत्रको अवरोधले विश्व अर्थतन्त्रमा पार्न सक्ने दूरगामी प्रभावबारे सचेत गराएकी हुन्।
पत्रकार सम्मेलनमा एक पत्रकारले हालको द्वन्द्वका कारण होर्मुज जलडमरू र आसपासको जलमार्ग अवरुद्ध हुन सक्ने सम्भावनाबारे जिज्ञासा राखेका थिए। सोही प्रश्नको जवाफ दिँदै प्रवक्ता माओ निङले यस जलडमरूको अन्तर्राष्ट्रिय व्यापारमा रहेको अतुलनीय महत्त्वलाई उजागर गरिन्।
प्रवक्ता माओ निङले भनिन्, “होर्मुज जलडमरू र यसको वरपरको जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारिक सामग्री ढुवानीको लागि जीवनरेखा सरह हो। यस क्षेत्रमा शान्ति र स्थिरता कायम रहनु सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा हितमा निहित छ।”
उनले थप्दै भनिन्, “चीनले सबै सरोकारवाला पक्षहरूसमक्ष तुरुन्तै सैन्य कारबाही रोक्न र तनाव अझ बढ्न नदिन आग्रह गर्दछ। क्षेत्रीय अस्थिरताले विश्वव्यापी आर्थिक विकासमा ठूलो धक्का पुर्याउन सक्छ, जसको परिणाम सबै राष्ट्रले भोग्नुपर्नेछ।”
चीनले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्न र ऊर्जा आपूर्ति शृङ्खलालाई निर्विघ्न राख्न आवश्यक कूटनीतिक पहल गर्न पनि आह्वान गरेको छ। यसरी मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका बीच चीनले शान्तिपूर्ण समाधान र संवादको बाटो अपनाउन सबै पक्षलाई दबाब दिएको देखिन्छ।





