ब्वाँसोको छालामा अमेरिकी शान्ति दूत: मध्यपूर्वमा तेलको राजनीति उदांगो

काठमाडौं, ३ मार्च / चिनियाँ सञ्चारमाध्यमले एक व्यंग्यात्मक कार्टुन मार्फत मध्यपूर्वमा अमेरिकी नीतिको पर्दाफास गरेको छ। ‘ब्वाँसो भेडाको छालामा’ शीर्षक दिइएको उक्त कार्टुनमा मध्यपूर्वको तेलमाथि अमेरिकी नियन्त्रणको लोभ र त्यसलाई शान्तिपूर्ण कूटनीतिको आवरण दिने प्रवृत्तिलाई तीखो व्यंग्य गरिएको छ।
कार्टुनमा मध्यपूर्व क्षेत्रलाई तीनपटक ‘तेल’ लेखेर देखाइएको छ भने अमेरिकी नेतृत्वलाई शान्तिको झन्डा बोकेको ब्वाँसोको रूपमा चित्रण गरिएको छ। यसले मध्यपूर्वमा अमेरिकाको वास्तविक स्वार्थ तेल नै रहेको तर त्यसलाई प्रचारमा शान्ति र लोकतन्त्रको नाम दिएको देखाउन खोजिएको विश्लेषकहरूले बताएका छन्।
चीनको प्रभावशाली सञ्चारमाध्यम चाईना डेलीले यस कार्टुन मार्फत मध्यपूर्वमा दशकौंदेखि चलिरहेको अमेरिकी हस्तक्षेप, इरानविरुद्धको कठोर नीति र तेलको राजनीतिबाट सिर्जित अस्थिरताप्रति व्यंग्य गरेको हो। यसले विश्वका विभिन्न भागमा चिनियाँ शैलीको कूटनीति र ‘शान्तिपूर्ण विकास’ को अवधारणालाई पनि उजागर गरेको छ।
चीनले पश्चिम एसियामा तनाव बढ्दै गएको अवस्थामा हालै मात्र होर्मुज जलडरूमा शान्तिको अपिल गरेको थियो। यस कार्टुनले इरानसँगको सम्बन्ध सुमधुर बनाउन चीनले खेलेको भूमिका र पश्चिमा दबाबका बीच सन्तुलन कायम राख्ने चिनियाँ प्रयासलाई पनि देखाउँछ।
विश्लेषकहरूका अनुसार, चिनियाँ सञ्चारमाध्यमको यो व्यंग्य अमेरिकी विदेश नीतिप्रति चीनको बढ्दो असहमति र वैकल्पिक विश्व व्यवस्थाको परिकल्पनाको प्रतिबिम्ब हो। मध्यपूर्वमा शान्ति र स्थिरताको नाममा अमेरिकाले आफ्नो स्वार्थ पूरा गरिरहेको चिनियाँ आख्यानलाई यस कार्टुनले थप बल पुर्याएको छ।





