शाङहाई सहयोग संगठनद्वारा इरानमाथिको आक्रमणको कडा निन्दा, तत्काल संयमता अपनाउन आग्रह

काठमाडौं / शाङहाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूले मध्यपूर्वी क्षेत्रको हालैको घटनाक्रम र इरानमाथि भएको सशस्त्र आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। संगठनले शक्ति प्रयोगलाई पूर्णरूपमा अस्वीकार गर्दै अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको मर्मअनुरूप समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको छ।

एससीओका सदस्य राष्ट्रहरूले वर्तमान द्वन्द्व संवाद, आपसी सम्मान र सबै पक्षका वैध हितलाई ध्यानमा राखेर मात्र समाधान गर्न सकिने धारणा राखेका छन्। उनीहरूले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सबै पक्षले तत्काल संयमता अपनाउनुपर्छ र परिस्थिति अझै चर्किनबाट रोक्नुपर्छ।” साथै, एससीओले संयुक्त राष्ट्रसंघ र त्यसको सुरक्षा परिषद्लाई यस विषयमा तुरुन्तै आवश्यक कदम चाल्न कडा आह्वान गरेको छ।

यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिहरूप्रति गहिरो शोक व्यक्त गर्दै एससीओले इरान सरकार र जनताप्रति समर्थन व्यक्त गरेको छ। संगठनले यस दुःखद घडीमा इरानका पीडित परिवारहरूप्रति समवेदना प्रकट गर्दै शान्तिपूर्ण समाधानको बाटो अपनाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button